Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

भद्रपुर, १८ भदौ २०८० । गत साता भद्रपुरमा झाडीमा नवजात शिशु फालेर फरार हुनेहरूको पहिचान खुल्न लागेको छ । सिसिटिभी फुटेजका आधारमा शिशुलाई झाडीमा फाल्ने युवा युवतीको पहिचान खुल्न लागेको हो ।

गत भदौ १२ गते मंगलवार साँझ ७ बजेर २३ मिनेटमा दुई युवायुवतीले शिशु झाडीमा फालेको सिसिटिभीमा देखिएको छ । आकाशे रङ्गको कुर्ता र पाइन्ट लगाएकी अन्दाजी १७–१८ वर्षकी युवती र कालो सेतो चेक सर्ट र पाइन्ट लगाएको, पछाडि ब्याग भिरेको अन्दाजी २२–२३ वर्षको युवाले ती शिशुलाई सँगै बोकेर ल्याउँदै गरेको किरात कोलोनी भवन छेउको घरमा रहेको सिसिटिभी फुटेजमा हेर्न सकिन्छ ।

शिशु बोकेर सँगै आउँदै गरेका उनीहरूलाई स्थानीय मनिका गिरीले पनि देखेकी थिइन् । युवाले ती शिशुलाई अप्ठ्यारो गरी बोक्दा गिरीले कसरी नानी बोक्नु भएको रु भनेर सोधेको स्थानीय परी खवासले जानकारी दिइन् । सिसिटिभीको फुटेज हेर्दा शिशु फाल्नेहरू नजिकका नभएको अनुमान गर्न सकिन्छ । शिशुलाई लगाइदिएको बाक्लो खालको टोपी, मोजा, पन्जाबाट ती शिशु गर्मी ठाउँको नभएर पहाडी क्षेत्रको हुनसक्ने अनुमान पनि गरिएको छ । अनैतिक सम्बन्धबाट जन्मिएको वा कसैले अह्राएर ती युवायुवतीले शिशु फालेको हुनसक्ने स्थानीय परी खवासले बताइन् ।

त्यस सिसिटिभी फुटेजका बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षकलाई त्यस सिसिटिभी हेर्न पठाएको जानकारी दिए । सिसिटिभी मधुरो भएकाले स्पष्ट रुपमा ती युवा युवतीलाई पहिचान गर्न गाह्रो भएको डीएसपी रिजालको भनाई छ ।टाईम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया