Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

भोजपुर, १० भदौ २०८० । निरन्तरको वर्षाका कारण भोजपुरमा पहिरो जान सुरु भएको छ । पहिरोका कारण सडक, विद्यालयका र घरहरूसमेत जोखिममा परेका छन् ।

जिल्लामा निरन्तरको वर्षा भएपछि सडकसहित घरहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । पहिराले भोजपुर नगरपालिका–१२ का दुई घरमा जोखिम भएको छ ।

अन्य केही घरसमेत जोखिममा रहेका छन् । शनिबार राति गएको पहिराले रमेश दर्नाल र मोतिलाल कपालीको घरमा क्षति पुगेको स्थानीयवासी विमल रणपहेलीले जानकारी दिए ।

केही दिनयताको अविरल वर्षाका कारण आफ्नो घरको माथि र तलबाट पहिरो गएको दीपेन दर्नालले बताए । ुशनिबार रातिको पहिराले घरमा नै क्षति पुर्‍याएको छ, आवश्यक सहयोगका लागि प्रक्रिया अगाडि बढाएका छौं,ु उनले भने ।

थप पहिराको जोखिम रोक्न र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत ती दुई घर परिवारले गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार वर्षाका कारण भोजपुर नगरपालिका–४ का नरेश खड्काकोे दुईतले घर पूर्णरूपमा क्षति भएको ।

यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका–२, कोतगढीडाँडा नजिकैको भित्री सडकखण्डमा पहिरो गएर सडक नै अवरोध भएको छ ।

बर्षातका कारण हतुवागढी गाउँपालिका–१, भीमसेनथानका छत्रबहादुर बस्नेतको घर छेउमा रहेको गोठ लड्दा गोठभित्र रहेका केही खसी बाख्राहरूसमेत मरेका छन् ।

भोजपुर नगरपालिका–१२, पैयाँपानीमा रहेको सार्वजनिक आधारभूत विद्याालयको ४० मिटर पर्खालसमेत वर्षाका कारण ढलेको प्रहरीले जनाएको छ । तीनतले घर भत्किएपछि जिल्लाको उत्तर षडानन्द नगरपालिका–८ का चमरसिंह तामाङको आठ जनाको परिवार छिमेकी हर्कराज राईको घरमा बस्दै आइरहेको छ । त्यस्तै रामप्रसाद राई गाउँपालिका–७ का सुमन राई, सोही वडाका टीकाराम राई लगायतको घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक लिम्बूले बताए ।रासस

 

तपाईको प्रतिक्रिया