Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दमक, ७ भदौ २०८० । झापाको पाडाजुँगी गौरीगन्ज सडक खण्ड भत्काएर बेवारिसे रुपमा छाडिएपछि दुर्घटनाको जोखिमसँगै धुलोले आसपासका बासिन्दाहरु ठुलो मारमा परेका छन् । असोज मसान्तभित्र नै काम सक्ने भन्दै पाडाजुँगीदेखि गेउरिया नजिकसम्म साढे ३ किलोमिटर सडक भत्काएर अलपत्र पारिएको छ ।

सरकारले यो योजनालाई चालु आर्थिक वर्षको कार्यक्रममा समावेश नगरेपछि अहिले निर्माण अलपत्र परेको छ । नेपाल भारत सीमा गौरीगन्जसँग जोड्ने गरी पूर्व पश्चिम राजमार्गको पाडाजुँगीबाट सडक स्तरोन्नति र विस्तारको काम सुरु भएको थियो ।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा रोड नेटवर्क डेभलपमेन्ट प्रोजेक्ट (आरएनडीपी) अन्तर्गत बनेको नमुना सडक भत्काएर बेवारिसे छाडिएको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन्। सडक भत्काएको आधा वर्षभन्दा बढी भइसकेको छ ।

“राम्रो र कतै नभत्केको सडक थियो तर अहिले भत्काएर बेवारिसे बनाइएको छ”, कमल गाउँपालिका वडा नं. ६ का यज्ञप्रसाद आचार्यले भन्नुभयो । वर्षाको समयमा सडक भत्काएर अहिले विजोग बनाएको भन्दै उहाँले यस विषयमा सम्बन्धित निकायको ध्यान जान नसके दुर्घटनाको जोखिम धेरै रहेको उहाँको भनाइ छ ।

मङ्गलबारे र पाडाजुँगीमा स्थानीयले बाटोमा बारम्बार ढाट पनि लगाउने गरेका छन् । धुलोका कारण समस्या भएको भन्दै ढाट लगाउने गरेका हुन् । स्थानीय राजु खड्काका अनुसार धुलोले घरभित्र खाना खान र बाहिर निस्केर हिँड्न नसक्ने अवस्था बनेको उहाँले गुनासो गर्नुभयो ।

काम भइरहेको समयमा चालु आर्थिक वर्षमा योजना र बजेटमा समावेश नभएका कारण समस्या भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौड्यालले जानकारी दिनुभयो । खरिढुङ्गा(माङ्वा(पूर्वाञ्चल जेभीले निर्माण सम्झौता गरेको थियो । असोज मसान्तसम्ममा काम सक्ने गरी सम्झौता भए पनि यो चालु आर्थिक वर्षमा बजेटमा समावेश नहुँदा काम रोकिएको पौड्यालको भनाइ छ ।

निर्माण व्यवसायीले अघिल्लो आर्थिक वर्षमा ४५ प्रतिशतभन्दा बढी काम सकेकोमा ४० प्रतिशतमात्र भुक्तानी पाएको र पछिल्लो आर्थिक वर्षमा गरेको कामको कुनै पनि भुक्तानी नपाएको बताएका छन् । ११ करोड लागतमा सडक स्तरोन्नतिसहित चौडा बनाउने कामलाई बजेटमा समावेश गराउनका लागि प्रयास भइरहेको पनि पौड्यालले जानकारी दिनुभयो ।गोरखापत्रअनलाइनबाट

 

तपाईको प्रतिक्रिया