Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २६ साउन २०८० । अध्यागमन विभागले शुक्रबार पक्राउ गरेका भारतीय नागरिक रोहन अडुकिया १६ महिनामा ४१ पटक नेपाल आवतजावत गरेको देखिएको छ । अडुकिया शुक्रबार भारतबाट नेपाल आउँदै गर्दा उनलाई विमानस्थल अध्यगमन कार्यालयले नियन्त्रणमा लिएको हो ।

उनीमाथि साउन २ गते विमानस्थल भन्सारमा बरामद भएको एक सय किलो सुन तस्करीमा संलग्न भएको आरोप लगाइएको छ ।

पक्राउ परेका अडुकियालाई अध्यगमन विभागले राजस्व अनुसन्धान विभागमा पठाउने जानकारी दिएको छ । अध्यगमन विभागका अनुसार रोहन पछिल्लो पटक साउन ५ गते बिहान काठमाडौंबाट बाहिरिएका थिए ।

१५ चैत २०७८ देखि ५ साउन २०८० सम्मको अवधिमा उनले ४१ पटक नेपाल आउजाउ गरेको देखिएको अध्यगमन विभाग स्रोतले बतायो । रोहन पछिल्लो पटक २४ असार (जुलाई ९) मा काठमाडौं आएका थिए । त्यस दिन राति ८ बजेर ६ मिनेटमा काठमाडौं ओर्लिएका उनी त्यसपछि ५ साउनमा नेपाल छोडेका थिए ।

सन् २०२२ को एक वर्षमै रोहन २८ पटक त्रिभुवन विमास्थलमा आवागमन र प्रस्थान गरेको अध्यगमनको विवरणमा उल्लेख छ । सन् २०२३ मा भने १३ पटक आउजाउ गरेको देखिन्छ ।

उनको यात्रा विवरणमा २१ पटक काठमाडौंबाट प्रस्थान र २० पटक आवागमन गरेको देखिन्छ । पछिल्लो १६ महिनामा २१ औं पटक काठमाडौं ओर्लिदा उनी विमानस्थल अध्यगमन कार्यालयबाट पक्राउ परेका थिए ।

 

तपाईको प्रतिक्रिया