Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

धनगढी, २० साउन २०८० । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा प्रहरीले उनकै भतिज र भाञ्जालाई पक्राउ गरेको छ । बिहीबार कृष्णपुर नगरपालिका –२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाई मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाई र भाञ्जा २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चजपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको हो ।

कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरुले खुलाएका छन् ।

तीनै जनाले मदिरा खाएको र सम्झाउने क्रममा वादविवाद भएपछि हात, लात्ती र बगरको ढुंगाले हिर्काउँदा घटनास्थलमा नै मृत्यु भएको पक्राउ परेका अजय र हरिशले बयान दिएका डीएसपी डाँगीले बताए ।

मृत्यु भएपछि घटना लुकाउने उद्देश्यले कुवेरको शव खाल्डो खनेर पुरेको पनि उनीहरुले स्वीकार गरेका छन् । दुबै जनामाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया