Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १८ साउन २०८० । आँखा पाक्ने रोगका कारण झापा बिर्तामोडका विद्यालयहरु बन्द हुन थालेका छन् । विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने समस्या देखापरेपछि बिर्तामोड-७ स्थित कंचन इङ्लिस सेकेन्डरी स्कूलले विदा दिएको हो ।

विद्यालयले आज सूचना प्रकाशित गरी विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखापरेको भन्दै साउन १९ गते एकदिन पठनपाठन नहुने जानकारी गराएको छ । कक्षा नर्सरीदेखि १० सम्म अध्ययन हुने सो विद्यालयमा ५४० जना विद्यार्थी छन् । त्यसमध्ये ४० प्रतिशत विद्यार्थीलाई आँखा पाक्ने समस्या देखिएको विद्यालयका संचालक डिल्लीराम चम्लागाँईले बताए । उनले आफूसहित चारजना शिक्षकलाई पनि सो समस्या देखिएको जानकारी दिए ।

धेरै विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिएपछि बिर्तामोड-६ स्थित सरस्वती एन्जल इङ्लिस स्कुलले पनि विदा दिन लागेको जनाइएको छ । त्यस्तै बिर्तामोड-५ स्थित टावर टेम्पल स्कुलले पनि विदा दिनका लागि अनुमति मागेको बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । उनले स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिन सल्लाह दिएको जानकारी दिए । विद्यालयहरुमा विद्यार्थीहरुको जटिलतालाई हेरेर आइतवार नगरभरिका विद्यालयमा बिदा दिने विषयमा सल्लाह भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारीले जानकारी दिए । झापामा यतिबेला आँखा पाक्ने रोगबाट धेरैजना प्रभावित भएका छन् ।

 

तपाईको प्रतिक्रिया