Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

काठमाडौं, ११ साउन २०८० । सरकारले साउनको अन्तिम सातादेखि किशोरीहरूलाई  ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ । ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई दिन लागिएको एचपीभी खोप कुन ठाउँबाट दिने भन्नेबारे छलफल चलिरहेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार ‘पाइलट प्रोजेट’ का रुपमा कार्यक्रमलाई सञ्चालन गरिनेछ ।

‘सम्भावित ठाउँको नाम स्वास्थ्य मन्त्रालयलाई पठाएका छौं । हाम्रो तयारी साउनको अन्तिमबाट सुरू गर्ने भन्ने छ’, डा. गौतमले भने, ‘मन्त्रालयबाट निर्णय भएपछि सबै कुराको जानकारी हुनेछ ।’ उनका अनुसार कुनै एक जिल्ला वा दुई–तीन पालिकाका किशोरीलाई दिने योजना छ ।

‘हामीसँग थोरै मात्र खोप भएकाले धेरै ठाउँका किशोरीलाई दिन सकिने अवस्था छैन । करिब ९ हजार किशोरी लाभान्वित हुनेगरी केही पालिका वा जिल्ला हेरेर एचपीभी खोप दिन सक्छौ’ डा। गौतम भन्छन् ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

यसअनुसार पहिलो चरणमा १५ लाख बालिबालिकालाई एचपीभी खोप दिनुपर्छ । त्यसपछि वार्षिक ५ लाख बालिकालाई खोप दिनुपर्ने महाशाखाको अनुमान छ । सरकारले अनुदानमा खोप उपलब्ध गराउन दातृ निकाय ग्लोबल भ्याक्सिन एलायन्स ९गाभी० लाई आग्रह गरेको छ ।

विश्व बजारको अवस्था हेर्ने हो भने यो खोप कम उत्पादन हुने गरेको छ र, महंगो पनि छ । गाभीले पनि उत्पादन कम्पनीसँग किनेर दिने भएकाले केही वर्ष अझै कुर्नुपर्ने उनी बताउँछन् ।

विश्वभर एचपीभीविरुद्धको खोप गार्डसिल, सर्भारिक्स र सेकोलिन गरी तीनवटा कम्पनीले मात्र उत्पादन गर्दै आएका छन् । नेपालमा ल्याइएको खोप सेकोलिन हो । यो दुई डोज लगाएपछि मात्र पूर्ण मानिन्छ ।

डा। गौतमका अनुसार अबको एक वर्षभित्रमा नियमित अनुदानमा गाभी मार्फत एचपीभीविरुद्धको खोप आउने आशा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया