झापा, ८ साउन २०८० । देशभर व्यापक रुपमा बढिरहेको डेंगु प्रकोप झापामा पनि बढ्दो क्रममा रहेको छ । गर्मी र वर्षा मौसममा झापामा डेंगु रोगको संक्रमण बढ्दै गएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले बताए ।
सङ्क्रमितमध्ये ६ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए । डेंगु सङ्क्रमणबाट गत असोजमा दुई जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भद्रपुर-७ सरस्वती टोल निवासी ५७ वर्षीय शशिकुमार भट्टराईको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बिर्तामोड-३ निवासी एक महिलाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौँको सरस्वती क्याम्पसको लाइब्रेरी शाखामा कार्यरत ५२ वर्षीया निशा छेत्रीको डेंगुबाट मृत्यु भएको थियो ।टाईम्स अफ प्रदेशबाट