Online Bichar
बिहिबार, आश्विन १७, २०८१ | Thursday, October 3, 2024

काठमाडौं, ६ साउन २०८० । नेपालमा अनुहारका विकृतिसम्बन्धी उपचार लक्षित छुट्टै अस्पताल स्थापना हुने भएको छ । अनुहारमा आउने विभिन्न समस्याहरुको उपचार लागि मात्रै अस्पताल स्थापना हुने भएको हो । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा नेपाली नागरिकलाई बिना शुल्क उपचार प्रदान गर्ने उद्देश्यले काठमाडौंको नख्खुमा सञ्चालनमा आउने भएको हो ।

शनिबार उपचार केन्द्रको सिलन्यास भएको हो । साथै वसुन्धारास्थित कान्तीपुर डेन्टल कलेज जनरल हस्पिटलमा समेत संस्थाको स्थापना भएको छ । क्रेनियोफेसियल प्रा।डा। हर्मन सेलरले स्थापना गरेको क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा बन्ने अस्पतालमार्फत खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णतः निःशुल्क उपचार पाउनेछन् ।

आम नेपालीलाई निःशुल्क उपचार प्रदान गर्ने उद्देश्यलाई पूरा गर्न स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको वैदेशिक अंशको रुपमा नेपालमा पनि पहिलो पटक नेशनल इन्स्टिच्युुट अफ क्रेनियोफेसियल सर्जरीको पनि आज नै स्थापना भएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रेनियाफेसियल सर्जन डा. सुमित सिंहले नेपालमा हरेक आठ सयमध्ये एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको बताउँदै सोको उपचारका लागि आफ्नै अगुवाइ तथा आर्थिक लगानीमा अस्पताल स्थापनाको काम थालिएको बताउनुभयो ।

करिव डेढ वर्षभित्र अस्पताल नख्खुमा सञ्चालनमा आउने उहाँको भनाइ छ । डा। सिंहले दाँत नमिलेको, आँखाको बीचका हड्डीहरु चाहिने भन्दा चौडा भएको, कान बुझिने, मुख खोल्न नसक्ने लगायतका समस्याको उपचार हुने बताउनु भयो । डा। सिंहले संस्थाले शुरुवाती चरणमा प्रतिवर्ष करिव पाँच सय जनालाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा दिने र भविष्यमा वार्षिक रुपमा १५ सय जना सम्मलाई निःशुल्क सेवा दिने लक्ष्य लिएको बताउनुभयो ।

नेशनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल सर्जरीका विभिन्न विभागमध्ये हर्मर सेलर सेन्टर फर क्लेफ्ट एण्ड क्रेनियोफेसियल एनामोलिजअन्तर्गतका सेवाहरु निःशुल्क उपलब्ध गराउने बताइएको छ । अस्पतालले एकै छातामुनि नेशनल सेन्टर फर टिएमजे डिस्अर्डर, फेसियल प्लाष्टिक एण्ड एष्थेटिक्स, नेशनल सेन्टर फर क्रेनियो–मेक्सिलो फेसियल ट्रमा, नेशनल सेन्टर फर इम्प्लान्टोलोजी लगायतका विभाग रहेन र सोअन्तर्गत अन्य सेवा तथा उपचारहरु भने शुल्क लाग्ने बताएको छ ।

 

तपाईको प्रतिक्रिया