Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

झापा, २५ असार २०८० । झापाको दमक र बिर्तामोडबाट २ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं.९ बस्ने ३७ वर्षिय सुवास गर्तौला र बिर्तामोड नगरपालिका वडा नं.५ बस्ने २२ वर्षिय सुरज भन्ने सुरेश राजवंशी रहेका छन् । उनिहरु दुवैलाई शुक्रबार झापा प्रहरीले पक्राउ गरेको हो ।

गर्तौलालाई विशेष अदालतको २०७५ कार्तिक १५ गतेको फैसला अनुसार भ्रष्टाचार (घुस/रिसवत) मुद्दामा पक्राउ गरिएको छ भने, राजवंशीलाई झापा जिल्ला अदालतको २०७७ पुस २३ गतेको फैसला अनुसार २ वटा चोरी मुद्धामा र २०७८ चैत १० गतेको फैसला अनुसार १ वटा चोरी मुद्धामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

फरार रहेका २ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राउ गरी आज (सोमबार) फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको जनाइएको छ । अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले बताउनुभयो । गर्तौलालाई भ्रष्टाचार मुद्दामा १ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ भने, राजवंशीलाई चोरी मुद्धामा २ बर्ष कैद र २० हजार जरिवाना तोकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया