Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

झापा, १६ असार २०८० । मोरङको उर्लाबारी-६ मा सञ्चालित अश्रय मेडिकल हलमा अवैध गर्भपतन गराउन संलग्न भएको आरोपमा स्त्री रोग विशेषज्ञ डा. ममता पण्डित उपर पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले अवैध गर्भपतनको आरोपमा मेडिकल सञ्चालक सन्तोष घिमिरे पक्राउ परेपछि उनकै बयानका क्रममा सञ्चालकले डाक्टरको पनि संलग्नता रहेको बयान दिएका छन् र उ डाक्टर पण्डितलाई पनि पक्राउ पुर्जी जारी गरी खोजी कार्य भइरहेको छ।

मोरङको उर्लाबारी-३ मङ्गलबारेमा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत डाक्टर ममता पण्डित नै आर्थिक प्रलोभनमा परेर अवैध गर्भपतनको बाटोमा संलग्न भएको आरोपमा उनीविरुद्ध प्रहरीले निगरानी बढाउँदै आएको थियो । आरोपित घिमिरेले यस अघि बयानमा डाक्टरको संलग्नताबारे प्रस्ट रुपमा नबोलेका कारण डाक्टरसम्म प्रहरी पुगेको थिएन ।
घटनाको सुरुमा प्रहरीले घिमिरेलाई मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टरमा गर्भपतनका विषयमा छलफल भइरहेको ठाउँमा उनीउपर स्थानीय र आफन्तले आरोप लगाएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
उनी पक्राउ परेको केही समयमा किटानी जाहेरी परेपछि पहिलो पटक इलाका प्रहरी कार्यालय उर्लाबारीले जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान थालेको थियो ।

पहिलो पटकको अनुसन्धानमा घिमिरेले बयानमा डाक्टरको नाम लिएका थिएनन् ।त्यसपछि प्रहरीले घिमिरेको अनुसन्धान नसकिएको भन्दै थप एक दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
दोस्रो पटकको थप अनुसन्धानमा घिमिरेले डाक्टरको संलग्नताबारे मुख खोलेपछि डाक्टर पण्डितलाई पक्राउ गर्न मोरङ प्रहरीले जिल्ला अदालत मोरङबाट असार १४ गते बिहीबार पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको जनाएको छ ।
गत जेठ २५ गते बिहीबार झापाको दमक नगरपालिका-४ बस्ने एक ४० वर्षिया कल्पना राई गर्भ परीक्षणका लागि उर्लाबारी-६ मधुमल्ला रोडमा रहेको अश्रय मेडिकल हलमा पुग्दा पेटमा २० हप्ता अर्थात् ५ महिनाको छोरी रहेको थाहा भएपछि उनले घरेलु समस्या देखाउँदै गर्भपतन गराउने सल्लाह मेडिकल सञ्चालकसँग मागेकी थिइन् । उनको सल्लाह बमोजिम मेडिकल हलका सञ्चालकले उहाँलाई गर्भपतनका लागि मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टरमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर ममता पण्डितलाई बोलाई दिने र २५ हजार रुपैयाँ लाग्ने बताएका थिए।

त्यसपछि जेठ ३२ गते बिहान ८ बजेतिर पुनः मृतक कल्पना राई सोही मेडिकल हलमा पुगेर डाक्टरको सल्लाह बमोजिम नै औषधी सेवन गरेकी थिइन्। औषधी सेवन गरे पनि अत्यधिक रक्तस्राव नरोकिएपछि निज कल्पनाको मृत्यु भएको थियो ।
अवैध रुपमा औषधि सेवन गराई आफ्नी श्रीमतीको मृत्यु भएको भन्दै श्रीमान् युवराज राईले प्रहरी समक्ष किटानी जाहेरी दिएपछि पक्राउ परेका घिमिरे अहिले हिरासतमा छन्।
डाक्टरको सल्लाह बमोजिम गर्नु भने पनि घिमिरेले सञ्चालन गरेको मेडिकल हलले प्रसूति गराउने अनुमति पाएको छैन । उहाँले अनुमति नै नपाएको क्लिनिकमा बिरामी परीक्षण गर्न आउने डाक्टरसँग मिलेमतो गरी पैसाको प्रलोभनमा पारेर अवैध गर्भपतन गराउने गरेको प्रहरीले जनाएको छ ।

जेठ २५ मा गर्भ परीक्षण गराउन गएकी ती महिला करिब ७ दिन पछि अर्थात् असार १ गते शुक्रवार रक्तस्राव भएको भन्दै श्रीमानलाई साथमा लिएर उपचारका लागि मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टर पुगिन् ।
अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा भएको शिशुको मृत्यु भइसकेको मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टरमा कार्यरत मेडिकल अफिसर डाक्टर सुमन यादव बताए ।

शल्यक्रिया पछि पनि ती महिलाको रक्तस्राव नरोकिएपछि अस्पतालले बिरामीको थप उपचारका लागि केही डाक्टरको साथ सहित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राता रात पठायो तर ती महिलाले उपचारकै क्रममा राईको मृत्यु भएको थियो।
महिलाको मृत्यु भएपछि भोलिपल्ट बिहान मृतका आफन्त र स्थानीयले अस्पताल परिसरमा शव राखेर क्षतिपूर्तिको माग तथा उपचारमा डाक्टरको लार्पवाही भएको भन्दै विरोध गर्न थालेपछि प्रहरीले घटनाको बारेमा छानबिन अगाडी बढाएको थियो।
छानबिनका क्रममा महिलाको अवैध गर्भपतनको प्रक्रिया आश्रय मेडिकल हलबाट सुरु भएको र घटनामा मेडिकलको संलग्नता रहेको पाइएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले मेडिकल सञ्चालकलाई नियन्त्रण लिएर अनुसन्धान अगाडी बढाइएको रहेको छ ।टाइम्स अफ प्रदेशबाट 

 

तपाईको प्रतिक्रिया