Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

विराटनगर, १३ असार २०८० । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोशीमा जनरल बेड मंगलबारदेखि निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघीय सरकार मातहत रहेको कोशी अस्पतालको ३३० बेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय भएको बताएका हुन् ।

कोशी अस्पतालको मंगलबार निरीक्षण गरेपछि सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले कोशी अस्पतालले गरिबका लागि भन्दै जनरल बेड निःशुल्क गरिएको बताए । यसअघि प्रतिबेड १०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि बिरामीले बेडका लागि पैसा तिर्नुपर्ने मन्त्री बस्नेतले बताए ।

बेड निःशुल्क गर्दा अस्पताललाई आम्दानी रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए । मन्त्रीले निर्देशन दिएपछि जेनेरल बेडमा भर्ना भएका बिरामीको मंगलबारदेखि जनरल बेड निःशुल्क गरिएको कोशी अस्पतालका मेसु डा. रविराज सिंहले जानकारी दिए ।

‘कोशी अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । एक सय रुपैयाँ तिर्नका लागि उनीहरूलाई सहज हुँदैन,’ मेसु सिंहले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय भएको हो ।’

जनरल बेड निःशुल्क भए पनि आइसियू र क्यानको शुल्क भने लाग्नेछ । कोशी अस्पताल ३५० शय्याको अस्पताल हो । यहाँ दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय जना बिरामी आउने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया