Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठ्माडौं, ९ असार २०८० । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले ६ महिनाको अवधिमा डेंगीका ९ सय ३ बिरामी फेला परेको जनाएको छ । ईडिसिडीकाअनुसार जनवरीदेखि हालसम्म ४७ वटा जिल्लामा डेंगीका केसहरु पाइएका हुन् । सबैभन्दा धेरै केस दार्चुलामा देखिएको छ । त्यहाँ डेंगीका १ सय ८७ केसहरु पाइएका छन् ।

त्यसैगरी धादिङमा ९७, कास्कीमा ६६, सुनसरीमा ४९, म्याग्दीमा ३८, काठमाडौँमा ४३, भक्तपुरमा ३३ र ललितपुरमा १२ वटा केसहरु पाइएका हुन् । यो अवधिमा डेंगीबाट मृत्यु पुष्टि भएको छैन । ईडीसीडीका भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा। गोकर्ण दाहालले फाट्टफुट्ट डेंगीका केसहरु देखिए पनि अघिल्लो सालजस्तो नबढेको बताए ।

उनले भने, ‘अहिले केसहरु कम छ । फाट्टफुट्ट नै देखिएको छ । सिजन त बढ्ने बेला नै हो । हामीले ७५३ वटै पालिकामा पत्राचार गरेका छौँ । हाल ९७ वटा पालिकामा केस देखिएको छ । पालिकाहरु पनि सजगतासहित नियन्त्रणका काम गरिरहेका छन् । नागरिकहरु पनि सचेत भएका छन् ।’ उनले अघिल्लो सालभन्दा यो वर्ष केसहरु कम हुन सक्ने बताए ।

अघिल्लो वर्ष डेंगीका केसहरु अत्यधिक थिए । अघिल्लो वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिन्छ ।

डेंगी गराउने लामखुट्टेले घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थिर संग्लो पानीमा अन्डा फारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउने हुन्छ । डेंगी संक्रमणको नियन्त्रण गर्न आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाईबाट बच्ने उपायहरु गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया