Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

शान्ति सुब्बा
गौरादह, ३ असार २०८० । गौरादह नगर अस्पतालमा आईतबार(आज)बाट निःशुल्क प्रसुती सेवा सुरु भएको छ । यसअघि गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षणमात्र गरिन्थ्यो भने आजबाट सामान्य प्रसुती सेवा सञ्चालनमा आएको नगर अस्पतालका सूचना अधिकारी रामकृष्ण जोशीले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले अस्पतालको अनुगमन गरि प्रसुती गृह सुचिकृत गरेपश्चात आईतबारबाट सामान्य प्रसुती सेवा सञ्चालन गर्न स्वीकृत दिए अनुरुप सेवा सञ्चालनमा ल्याइएको सूचना अधिकारी जोशीले बताउनुभयो । प्रसुती सेवा सुचारुका लागि नर्सीङ्ग स्टाफलाई तालिम समेत प्रदान गरिएको थियो ।

झापाको गौरादह नगरपालिका-१ मा रहेको पुरानो स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी असोज १ गतेबाट गौरादह नगर अस्पताल सञ्चालनमा ल्याइएसँगै सामान्य सेवा सुविधाहरु थप गर्दै आजबाट प्रसुती सेवा सञ्चालनमा ल्याइएको हो । सामान्य सुरक्षित प्रसुती सेवा नगर अस्पतालबाट नै पाइने भएपछि गर्भवती महिलाहरुलाई प्रसुती सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता भने हट्ने भएको छ । प्रसुती सेवा लिन आउने गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच गर्दा अवस्था सामान्य हुँदा अस्पतालमा नै सेवा दिइने जनाइएको छ भने, अवस्था जटिल किसिमको छ भने अन्यत्र सुरक्षित ठाउँमा रेफर गरिने नर्सीङ्ग इञ्चार्ज कल्पना निरौलाले बताउनुभयो । प्रसुती सेवाका लागि अस्पतालमा उपलब्ध भएका नर्स र फिजिसियन डा.हरि घिमिरे, डा.चेवनराज कार्की र डा.सुजता कार्की बाट नै सेवा प्रदान गरिने जनाइएको छ । यस्तै, नगर अस्पतालमा भिडियो एक्स-रे को सुविधा नभएकाले अन्यत्र भिडियो एक्स-रे गराएर पनि आफ्नो ठाउँमा नै सामान्य प्रसुती सेवा लिन सकिने भएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

हाल १५ वटा बेड सहितको २४सै घण्टा इमरजेन्सी सेवा सहित रहेको यस अस्पतालमा प्याथोलोजी ल्याब सेवा, एक्स -रे सेवा, फार्मेसी, मातृ सुरक्षा कार्यक्रम, परिवार नियोजन सेवा, मेडिकल एभर्सन सेवा निःशुल्क, बच्चाको नियमित खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया, डेंगु, कालाज्वर, एच.आइ.भी.को निःशुल्क सेवा प्रदान गर्दै आएको छ । यस्तै गर्भवती महिलाहरुका लागि निःशुल्क एम्बुलेन्सको सेवाको साथै गर्भवती परिक्षण प्याकेजमा अन्यत्र लाग्ने शुल्क भन्दा निकै नै कम शुल्क ७ सय ५० मात्र शुल्क लाग्ने जनाइएको छ । प्रसुती गराए बापत सुत्केरी महिलालाई नेपाल सरकारले दिँदै आएको यातायात खर्च अन्तर्गतको १ हजार अस्पतालले प्रदान गर्ने जनाइएको छ ।

यस्तैगरी, राष्ट्रिय स्वास्थ्य बीमा बोर्डबाट नगर अस्पतालको अनुगमन गर्ने कार्य पनि सकिएकोले सकेसम्म साउन सम्ममा नगर अस्पतालबाट नै स्वास्थ्य बीमा कार्यक्रम ल्याइने सूचना अधिकारी जोशीले बताउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया