Online Bichar
मंगलबार, आषाढ ०५, २०८१ | Tuesday, June 18, 2024

काठ्माडौं, १ असार २०८० । सरकारले प्रमुख तीन बालीमा हाल्ने मलको मात्रा सिफारिस गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र र अमेरिकी सहयोग नियोग (युएसआइडी) को संयुक्त प्रयासमा धान, मकै र गहुँमा हाल्ने मलखादको मात्रा सिफारिस गरेको हो।

मलखादको सही प्रयोगबाट उत्पादन र उत्पादकत्व बढाउन मलखाद सिफारिस गरिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले जानकारी दिए। ‘माटोको अवस्था, प्रयोग गरिने बालिहरू, सिँचाई र मौसमलाई परीक्षण गरेर मलखाद सिफारिस गरिएको छ, उनले भने।

पछिल्लो समय बीउका जात र माटोको अवस्थामा आएको परिवर्तनका कारण मलखाद सिफारिस गर्नुपरेको उनी बताउँछन्। उनका अनुसार अहिले बीउका विभिन्न हाइब्रिड जातहरू आएका छन्। त्यस्तै, माटोको अवस्थामा पनि परिवर्तन आएको छ।

देशभरका कृषि योग्य जमिनबाट ३० हजार ५ सय ४८ माटोका नमूनाको आधारमा मलखाद सिफारिस गरिएको छ। सिफारिस गरिएअनुसारको मल प्रयोग गर्दा ३० प्रतिशतले रासायनिक मलको खपत बढ्ने उनको भनाइ छ।

‘पहिले माटो राम्रो थियो। गाईवस्तु पाल्थे मल हुन्थ्यो,’ उनले भने, ‘अहिले गाईवस्तुको मल छैन, माटो पनि बिग्रिसकेको छ । किसानले सन्तुलित रूपमा सिफारिस गरिएअनुसार मलको प्रयोग गरे २५ प्रतिशतले उत्पादन पनि बढ्ने उनले जाकारी दिए।

त्यसो त मलखाद सिफारिस गरिएको यो पहिलो पटक भने होइन। ४७ वर्षअघि कृषि विभाग अन्तर्गतको माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाले सबै बालीका लागि मलखाद सिफारिस गरेको थियो। त्यो समयमा एक सय किलो नाइट्रोजन, ३० किलो फस्फोरस र ३० केजी पोटास हाल्न सिफारिस गरिएको थियो। सोही सिफारिसका आधामा अहिलेसम्म किसानले बालीमा मल प्रयोग गरिरहेका छन्।

२०७५ सालदेखि माटो विज्ञान समूहले यसको अध्ययनको काम गरेको हो। अध्ययन भएको दुई वर्षमा यसको विवरण निकाल्ने योजना थियो तर कोभिडका कारण दुई वर्ष ढिला भएको उनी बताउँछन्।

धान बालीका लागि सिफारिस गरिएको मलखादको मात्रा

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

उनका अनुसार धानबालीमा रासायनिक मलको प्रयोग गर्दा बीउ लगाउन अगाडि नै फस्फोरस, पोटास, जिंक सल्फेट र बोरेक्सको पूरै मात्रा तथा नाइट्रोजनको एक तिहाई मात्रा मल हाल्नुपर्छ।

त्यसपछि, बाली लगाएको २५ देखि ३० दिनपछि (गाँज आउने समयमा) र बाँकी ५० देखि ५५ दिनपछि (बालीको फूल फुल्नभन्दा अगाडि) प्रयोग गर्नुपर्छ।

मकै बालीका लागि सिफारिस गरिएको मलखादको मात्रा

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

मकैको बीउ रोप्नुअगाडि नै रासायनिक मलको प्रयोग गर्दा फस्फोरस, पोटास, जिंक सल्फेट र बोरेक्सको पूरै मात्रा तथा नाइट्रोजनको एक तिहाई मात्रा मल प्रयोग गर्नुपर्ने उनले बताए।

त्यसपछि बाँकी बालीको ६ पाते अवस्था र १० पाते अवस्थामा मिलाएर प्रयोग गर्नुपर्छ।

गहुँ बालीका लागि सिफारिस गरिएको मलखादको मात्रा

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

उनका अनुसार धानबालीमा रासायनिक मलको प्रयोग गर्दा बीउ लगाउनुअगाडि नै फस्फोरस, पोटास, बोरेक्स र नाइट्रोजन एक तिहाई मात्रा मलखाद हाल्नुपर्छ।

त्यसपछि, बाली लगाएको २५ देखि ३० दिन पछि (गाँज आउने समयमा) र बाँकी ५० देखि ५५ दिनपछि (बालीको फूल फुल्नभन्दा अगाडि) प्रयोग गर्नुपर्छ।

उपलब्ध भएसम्म प्रांगारिक मल बढी राख्न उनी सुझाउँछन्। तर, किसानले माटोका अवस्था हेरेर मलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

माटोमा भएको खाद्यतत्वको आधारमा मलखादको सिफारिस

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सरकारले डिजिटल माटोको नक्सा तयार गरिसकेको छ। यसको एप प्रयोग गरेर किसान आफैंले आफ्नो जग्गाको माटोको अवस्था थाहा पाउन सक्छन्।

सिफारिस गरिएको मलखादको विवरण सबै स्थानीय तहमा पठाइसकेको उनले जानकारी दिए।

‘हामीले ७ सय ५३ पालिकामा पठाइसकेका छौं,’ उनले भने, ‘त्यहाँका कृषि प्राविधिकले किसानसम्म पुर्‍याउँछन्।’

बढी मलको प्रयोग गरेरभन्दा पनि सन्तुलन रूपमा मलको प्रयोग गरे उत्पादन बढ्ने उनको भनाइ छ।

माटोको अवस्था बुझेर मल हाल्न उनले किसानलाई सुझाएका छन्।

यो वर्ष अन्य खाद्यान्न बालीका लागि पनि मलखाद सिफारिसको अध्ययन भइरहेको उनले जानकारी दिए।सेतोपाटीबाट साभार

 

तपाईको प्रतिक्रिया