Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दाङ, ३० जेठ २०८० । दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको बुधबार हुने पाचौँ दीक्षान्त कार्यक्रममा तयारी पूरा भएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा कार्यक्रम हुने विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवप्रसाद लामिछानेले बताउनुभयो ।

विगत १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह बुधबार हुन लागेको हो । यो कार्यक्रम भएसँगै २०७६ सालसम्मका विद्यार्थीहरूलाई सक्कली प्रमाणपत्र लिन पाउने बाटो खुलेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा ५७५ जना विद्यार्थीहरू दीक्षित हुन लागेका छन् । १० वटा शैक्षिक सत्रमा विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र बिएमएस उत्रिर्ण गरेका ४ हजार ७ सय ७३ मध्य निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षित हुन लागेको हुन् ।

विद्यावारिधि उपाधि हासिल गरेका १२० जना, आचार्य तह उत्रिर्ण १४५ जना, शास्त्री तह उत्रिर्ण १६३, आयुर्वेद स्नातक उत्रिर्ण ५७ र एक वर्षे शिक्षा शास्त्री उत्रिर्ण गरेका ९० जना दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

२०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गरेको थियो ।

यस्तै, विश्वविद्यालयमा दीक्षान्त समारोह हुने भएपछि विश्वविद्यालयको उत्तर तर्फको प्रवेशद्वार देखि पूर्व तर्फको प्रवेशद्वार सम्मको १७२ मिटर सडक कालोपत्रे भएको छ । लुम्बिनी प्रदेश सरकारको १० लाख बजेटमा ४ मिटर चौडाई र १७२ मिटर लम्बार्इ रहेको सडक कालोपत्रे गरिएको छ ।

 

तपाईको प्रतिक्रिया