Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २९ जेठ २०८० । झापास्थित इलाका प्रहरी कार्यालय कुमरखोद र घैलाडुब्बाको नवनिर्मित दुई वटा कार्यालय भवन आजदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजेशनाथ बास्तोलाले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बीच दुवै नवनिर्मित प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

डीआइजी बास्तोलाले शिलालेख अनावरण गरी उद्घाटन गरेसँगै दुवै नयाँ भवन सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डीआइजी बास्तोलाले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरूमा थप मनोबल वृद्धि हुनुका साथै आम नागरिकलाई प्रदान गरिने प्रहरी सेवासमेत स्तरीय हुने बताए । साथै कानुनको परिधिमा रही जनचाहना बमोजिम प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरूलाई डीआइजी बास्तोलाले निर्देशन समेत दिएका थिए ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट झापा गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय कुमरखोद र इलाका प्रहरी कार्यालय घैलाडुब्बाको भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए । दुवै भवनको ठेक्का टक्सार निर्माण सेवा प्रालि काठमाडौँले लिएको थियो । टक्सारले कुमरखोदको ठेक्का २ करोड ३५ लाख ८७ हजार ६ सय २८ रुपैयाँ ८४ पैसामा लिएको थियो, भने घैलाडुब्बाको ठेक्का २ करोड ३३ लाख १३ हजार ६९३ रुपैयाँ ७७ पैसामा लिएको थियो ।
२०७६ जेठ १६ गते कुमरखोदको भवन निर्माणको सम्झौता गरेको टक्सारले भर्खरै आएर निर्माण कार्य सकेको हो । त्यस्तै २०७६ जेठ १६ गते घैलाडुब्बा भवन निर्माणको सम्झौता गरेको टक्सारले सो भवन पनि ढिलै गरी बनाएको बताइएको छ ।टाईम्स अफ प्रदृशबाट

तपाईको प्रतिक्रिया