Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

सरगम भट्टराई

१२ मङ्सिर ।  सम्माननीय महामहिम राष्ट्रपतिज्यू

पूर्वराष्ट्रपति रामवरण यादवलाई तीन वर्षअघि ‘डेरा हैन आफ्नै घर सर्नूस्’ भनेर स्फूर्त हृदयले खुलापत्र लेखेको थिएँ। उक्त लेखको पक्ष, विपक्षमा धेरै मानिस उभिए। लेखको अभिप्राय बहस, विमति सिर्जना गर्नु थिएन। गणतन्त्रका आभूषण मानिएका संस्थाहरूलाई सच्याउनु थियो।

अहिले फेरि वर्तमान राष्ट्रपतिज्यूलाई खुलापत्र लेख्न अभिशप्त छु।

सामाजिक सञ्जाल रङ्गिएको छस् राष्ट्रपति भवन शीतल निवासबाट १८ करोडको गाडी माग भयो। मलाई थाहा छ, तपाईंले १८ करोडको गाडी माग्नुभएको होइन। अठार करोड त के अठार लाखको सवारी पनि तपाईं माग्नुहुन्न। किनकि, तपाईंले माग्नै पर्दैन। जनता शासित गणतान्त्रिक देशको माहोल नै यस्तै छस् पद र कद हुनेले माग्नै पर्दैन। सोझै ज्यू, हजुर गर्दै हाजिर हुन्छ।

कठिन वर्ग संघर्षको स्कुलबाट दीक्षित हुनुभएकी तपाईं आज देशको सर्वोच्च राष्ट्रपति पदमा विराजमान हुनुहुन्छ। तपाईं पछि कहिले पालो आउला र राष्ट्रपति बनौंला भनेर आँखा च्यात्ने र चार वर्ष कुर्ने थुप्रै छन्। कारण– राष्ट्रपति गणतन्त्रको मुकुट हो, निधि हो।

कदाचित् राष्ट्रपतिको सेवा–सुविधा र अधिकारको दायरा फराकिलो पार्यो भने, शीतल निवास पुगेर अघाउञ्जेल खाउँला भन्ठानेर यहाँ मुख नखोल्ने धेरै छन्। विवेकमा राजनीतिक आस्थाको ताल्चा ठोकेर बस्नेहरू पनि निकै देखेको छु मैले।

मजस्ता नागरिकको भाषा बोल्ने थुप्रै छन् महामहिमज्यू। तिनलाई गणतन्त्रको यो विलास मन परेको छैन। समृद्धिको उल्लास प्रतिदिन सेलाउँदै गइरहेको छ।

म बबुरोले तपाईंले पाउने सेवा सुविधामा र्‍याल काढेको होइन। गणतन्त्रमा सत्तासिनहरूको छाया छुने औकातसमेत छैन मेरो। तै यति भन्नै मन लाग्यो, तपाईंले प्रयोग गर्ने सेवा सुविधामा गरिबको पसिना मिसिएको छ। निमुखाको रगत मिसिएको छ। घरको चुल्हो बाल्न खाडी पसेका ५० लाख निम्छराहरुको विप्रेषणको प्रतिविम्ब देखिन्छ। सिटामोल नपाएर अनमोल जीवन गुमाउनेको आँशु देखिन्छ। भूकम्पले थातथलो उखेलेकाहरूको सुस्केरा भेटिन्छ। एक पिन्ट रगत पाउन नसकेर अस्पताल पुग्न नपाउँदै प्राण पखेरु उडेका सुत्केरी आमाहरूको टिठलाग्दो तस्बिर आँखा अगाडि आउँछ। विक्षिप्त हुन्छु। मुटुमा भक्कानो छुटेर आउँछ।

पुरुष भएर जन्मिएको ‘म’ त यो हदसम्म पिरोलिन्छु भने शीतल निवासको शयन कक्षबाट मुलुक बनाउने सपना झल्झल्ती देखिरहनुभएको तपाईं खुसी पक्कै हुनुहुन्न। तर, पनि शीतल निवासको गेटबाट गाडी किन्न १८ करोड आवश्यक भएको समाचार किन बाहिरियो होला?

प्रिय राष्ट्रपतिज्यू, तपाईं यहाँसम्म कसरी आउनुभो, त्यो कुरा मैले पढेर, देखेर जानेको हुँ। भुक्तभोगी त तपाईं नै हो।

यसबीच आसन फेरिएको तपाईंको मात्रै हो। जनताको दैनिकी उस्तै छ। अभाव र दरिद्रको रंग उस्तै छ। जिन्दगीले अभाव र गरिबीको उही कथा रटाइरहेछ। नवदुलहीहरूले उस्तै पतिवियोगको नियति झेलिरहेछन्। सन्तान टाढिएका वयोवृद्ध, अभिभावक विदेशिएका लालाबालाको अनुहारमा उस्तै आँशु बगिरहेछन्। लाउँ(लाउँ, खाउँ(खाउँ उमेरका युवायुवती हजारौं माइल टाढा छुट्टाछुट्टै सिरानी च्यापेर जवानी धकेल्न अभिशप्त छन्। सरकारले जनतालाई रोग, भोक, शोकबाहेक केही दिन नसकेको तपाईंलाई राम्रैसँग थाहा छ।

यसो भन्नुको तात्पर्य तपाईंका पति मदन भण्डारीझैं ‘साइकल नै डोर्याउनुस्’ होइन। तपाईंको माग, गरिब जनताका अपेक्षा र देशको सामथ्र्यबीच तादात्म्य मिलेन कि भन्ने अभिप्राय मात्रै हो।

फेरि महिला राष्ट्रपति भएकैले ‘पुरुष आलोचना’ पोखेको पनि हैन। गणतन्त्रमा पात्र गौण हुन्छन्, प्रवृत्तिको आलोचना त गर्न पाइन्छ नि हैन र?

गाडीको समाचार भाइरल बन्दा पृष्ठभूमिमा थुप्रै निरस राग बजिरहेका थिए। सम्पत्तिका रूपमा अढाइ कट्ठा जग्गा र अढाइ तोला सुन भएकाहरु सिंगापुरमा महिनैपिच्छे उपचार गर्ने। सामान्य घाँटी हल्लने रोगले सताउँदा पनि गर्दन हल्लाउँदै थाइल्यान्ड पुग्ने। उपचारको बहानामा केही दिन टहलिन अमेरिका जाने। सामान्य शरीर जचाउन पनि विदेशी अस्पताल नै जानेहरू स्मृतिमा नअटेका होइनन्। सुन तस्करदेखि गाडीको लावालस्कर लगाउनेहरू पात्रका रूपमा एकपछि अर्को गरी नआएका होइनन्।

शिर आलोचित भएका बेला शरीर कन्याएर कति छारो उडाउनू१

अचेल सानातिना घटनामा पनि सामाजिक सञ्जालमा नामै तोकेर गाली गर्नेहरूको ठूलो जमात छ। ताली पाइने आशमा गाली गर्नेहरू पनि सडकमा नभेटिने होइनन्। तर, लहलहैमा लागेर आलोचना खन्याएको नबुझ्नूहोला, महामहिमज्यू१

एकपटक देशको हालत हेर्नुस्। फेरिएको आफ्नै शान–शौकत पनि नियाल्नुस्। त्यो शयन कक्षको भव्य दर्पण हेर्नुस्। वास्तविकता तपाईंको नजिकै आउनेछ।

हिजोआज कति अनमेल जीवनशैली छ मान्छेहरूको१ कति पीडा छ मान्छेहरूमा१ शान्ति सुरक्षाको अवस्था कति भयावह बन्दै छ?

१३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेको चार महिना भयो। त्यो घटना सम्झिएर कहिल्यै हृदय टुट्यो? राष्ट्रपति देशको अभिभावक हो। आफ्नै आँखाअगाडि छोरी बलात्कार भएको कसरी टुलुटुलु हेर्न सकेको तपाईंले?

यस्तो घटनाको साक्षी बस्नु परिरहेको तपाईंलाई शीतल निवासमा निद्रा लाग्छ?

अहँ महामहिमज्यू, म त निदाउन सकेको छैन। अठार करोडको गाडीबारे अठार लाख टिप्पणी आए। ती सबै आक्रोशपूर्ण छन्। जनताले रगतसँग साटेको संस्थालाई किन बदनाम हुन दिनुहुन्छ, महामहिमज्यू? गणतन्त्रको विलासी चाहना देखेर राजतन्त्रका अवशेषले काखी बजाउँदैछन्। कुरा काट्ने अवसर किन दिँदै हुनुहुन्छ? तपाईंको बचाउ गर्न मलाई किन हम्मेहम्मे परिरहेको छ?

मलाई थाहा नभएको होइन, राज्य बलियो हुन राज्यका संस्थाहरू बलियो हुनुपर्छ। शीतल निवास पनि बलियो हुनुपर्छ। तन्दुरुस्त देखिनुपर्छ।

ज्यान फालेर ल्याएको गणतन्त्र हेर्दा हेर्दै ‘दूषित’ बनेको कसरी सहनु?

अचेल तपाईं बाहिर निस्कँदा सहरमा शून्यता छाउँछ। एम्बुलेन्स गुड्न पाउँदैन। प्रसूति व्यथाले च्यापेका तपाईंजस्तै आमाहरू पनि बाटैमा रोकिनुपर्छ। गणतन्त्र यति विघ्न असुरक्षित छ र महामहिमज्यू?

तपाईं जनताकी छोरी, राजा(महाराजा झैं ठाँटबाँठ कहाँ सुहाउँछ र१ सत्ते सत्ते, कत्ति पनि प्रिय देखिएको छैन। जनताको शासनको उपेक्षा त छ नै। तै पनि तपाईंलाई ‘महारानी’ बन्ने सोख पलाएको छैन भनेर म किन विश्वस्त हुन सकिरहेको छैन?

भनिरहनु नपर्ला, देश आधा करोड युवायुवतीको पसिना बेचेर चलेको छ। प्रशासकीय खर्च चलाउनसमेत ऋण लिनुपर्ने दुःख छ। ऋण गरेर गाडी चढ्ने के बाध्यता आइलाग्यो, राष्ट्रपतिज्यू?

फेसबुकमा ुमेमोरीु मात्र हेर्यो भने पनि पोहोरका चुनावी भाषण रिप्लेु भइरहेका छन्। दुईतिहाइको सरकारले दुई–तीन सिन्को पनि भाँचेको छैन। रिबन काटेरै पाँचवर्षे आयु रित्याउने छाँट देखिरहेको छु।

कोही पराजित उम्मेदवार सांसद बन्नकै लागि चोरबाटो खोज्दै छ। कोही गुन्डा छुटाउन प्रहरी कार्यालय धाउँदैछ। माननीयहरू दिनदहाडै अमानवीय बनिरहेका बेला, तपाईं पनि त्यही बाटोमा किन नि?

मलाई आज सरकारी निवास छाडेर फार्म हाउसमा बस्ने उरुग्वेका पूर्वराष्ट्रपति जोसेफ मुजिकाको सम्झना आइहेको छ। असाध्यै सरल र लोकप्रिय बाराक ओबामाका साथै पब्लिक रेल चढेर जनतासँग सेल्फी लिने क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोको याद आइरहेको छ।

त्यसैगरी रेलमा उभिएर यात्रा गर्ने बेलायती प्रधानमन्त्री डेविड क्यामरुनको तस्बिर आँखा अगाडि घुमिरहेको छ। शक्तिशाली देशका प्रधानमन्त्री, राष्ट्रपतिहरूलाई सुरक्षा चुनौती थिएन होला र?

अन्य नेता तथा कार्यकर्ताले जे गरून्, कमसेकम ती आदर्श पुरुष मदन भण्डारीकी अर्धाङ्गिनी तपाईंले एकपटक सोच्नुस्, तपाईंलाई श्री ५ बडामहारानी हैन, श्रीमती विद्यादेवी भण्डारी नै सुहाउँछ।

मलाई जोसेफ मुजिका, जस्टिन ट्रुडो, बाराक ओबामा र डेभिड क्यामरुनको हैन, आफ्नै प्रिय राष्ट्रपतिको तारिफमा शब्दहरू खर्चन मन छ। लौन हजुर, केही लेख्ने वातावरण बनाइदिनुस्।

साभार: सेतोपाटि

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments