Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

तेह्रथुम, २८ वैशाख २०८० । तेह्रथमुको छथर गाउँपालिका-३ पञ्चकन्यामा बिहीबार अपराह्न ३ बजेतिर आगलागी हुँदा आमाछोराको मृत्यु भएको छ । आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनका १४ वर्षीय छोरा भूपेन्द्रको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज वलीले जानकारी दिए ।

आगो निभाउने क्रममा ६० वर्षीय देवेन्द्र नेवार, १७ वर्षीय प्रकाश तामाङ, १६ वर्षीय युवराज श्रेष्ठ र १५ वर्षीय ओम श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये नेवारको अवस्था गम्भीर छ । उनको हात र खुट्टा जलेको छ । अन्य तीन जना आगो निभाउने क्रममा निसासिएर बेहोस भएका छन् ।

घाइतेहरुलाई स्थानीय छथर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा मानवीय क्षति भएको हो । आगलागीमा परी पूर्ववडाध्यक्ष तुलसीजंग थापाको घर र ग्वाली जलेको छ । घरभन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ । आगो निभाउन स्थानीय, जनप्रतिनिधि र प्रहरी खटिएका छन् । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया