Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

सुवास पण्डित

चितवन, ११ मंसिर । सामुदायिक विद्यालयको अद्योगति हुनुमा व्यवस्थापन समिति, शिक्षक र प्रशासनको हात कति रहन्छ भन्ने कुरा चितवनको भरतपुरस्थित चितवन माविको अस्तव्यस्तता हेरे पुग्छ ।

सम्भवतः नेपालकै सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी आन्तरीक आयस्रोत भएको विद्यालयमध्येमा पर्दछ चितवन मावि । यो विद्यालयको वार्षिक आम्दानी दुई करोड रुपैयाँ छ । भाडाबाट मात्रै विद्यालयले यति धेरै रकम उठाउँदै आएको छ । तर, यो विद्यालयभित्र प्रवेश गर्दा मन भने खिस्रिक्क भएर आउँछ ।

विद्यालयको मूल गेटबाट भित्र पसेपछि देब्रेतर्फ कुरोघारी छ । त्यहाँभित्र पस्न सक्ने अवस्था नै छैन । त्यसलाई हटाउने र फाल्नेसम्मको काम विद्यालयले गरेको छैन । चौर पनि उस्तै फोहर छ । विद्यालय भवन फुङ्ग रंग उडेको जस्तो देखिन्छ । विद्यालयको सरसफाइको अवस्था त्यस्तै कमजोर छ । नत विद्यार्थीहरुमा कुनै उत्साह छ नत शिक्षकहरुमा नै ।

विद्यार्थीको आकर्षण कम, नतिजा खस्किँदो

विद्यालयका प्रधानाध्यापक मुक्ति लामिछानेका अनुसार अहिले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट र कक्षा ५ देखि १० सम्म अंग्रेजी–नेपाली दुवै माध्यममा पढाई हुने गरेको छ । कुनै समयमा १३ सय विद्यार्थी पढ्दथे चितवन माविमा । तर अहिले आकर्षण घट्दै गएर ७५० जना मात्रै छन् । कक्षा १२ सम्म जम्मा ७५० जना विद्यार्थीहरुले यहाँ अध्ययन गर्दछन् । कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाई हुन्छ । विद्यार्थीबाट प्रतिविद्यार्थी ६५० रुपैयाँ शुल्क लिने गरिएको छ ।

२०६९ देखि २०७२ सालसम्म करिब चार वर्ष विद्यालयले विज्ञान बिषयमा पनि कक्षा ११ र १२ पढाएको थियो । तर, त्यस कार्यक्रमलाई निरन्तरता दिन विद्यालयले सकेन । ल्याब निर्माणमा गरिएको लगानी त्यसै खेर गयो । तर यहाँ कार्यरत शिक्षक कर्मचारीहरुले अतिरिक्त १० प्रतिशत बढी भत्ता खाँदै आएका छन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार्नतर्फ कसैको पनि ध्यान गएको छैन । गत वर्षको एसईई परीक्षामा सामुदायिकतर्फको नतिजामा चितवन मावि ३८ औँ नम्बरमा परेको छ ।

आन्तरिक आयस्रोत केही नभएका विद्यालयहरुले शैक्षिक गुणस्तर सुधार गरेर अभिभावकहरुको मन जितेका छन् तर यो विद्यालय झन्–झन् खस्किँदै गएको छ । चितवन माविभन्दा पाँचसय मिटर पर रहेको नारायणी नमूना विद्यालयमा विद्यार्थीहरु खचाखच छन् । प्रवेश परीक्षा नै लिएर विद्यार्थी छनौट गर्नुपर्ने अवस्था छ नारायणीको । उसको आन्तरिक आम्दानी खास छैन ।

आयस्रोत बढी भएर पनि काम गर्न सकिएनः व्यवस्थापन समिति अध्यक्ष

चितवन मावि व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछाने शैक्षिक गुणस्तर सुधार गर्न नसकिएको स्वीकार गर्दछन् । स्थानीय युवा नेताको समेत परिचय बनाएका लामिछाने अघिल्लो वर्ष साउनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आएका हुन् । विद्यालयमा विद्यार्थीहरुलाई आवासीय सुविधासहित शैक्षिक गुणस्तर सुधार गर्ने योजना रहेको उनले बताए । प्राविधिक शिक्षाका कार्यक्रम पनि ल्याएर विद्यार्थी संख्या बढाउने योजना उनको छ । बन्द भएको विज्ञानको कार्यक्रम फेरि चलाउने अध्यक्ष लामिछानेले बताए । ‘विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त भएन भन्ने हामीलाई पनि लागेको छ,’ अध्यक्ष लामिछानेले भने, ‘यहाँभित्र विविध समस्या रहेछन्, आयस्रोत बढी भएर पनि काम गर्न सकिएको छैन ।’

भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले जिल्लाका धनी विद्यालयहरुको नतिजा अन्य सामान्य अवस्थामा चलेका विद्यालयको भन्दा ‘गरिब’ आएको बताए । धनी विद्यालयको विद्यालय व्यवस्थापन समितिमा बस्न होडबाजी चल्ने, तर गुणस्तर सुधारमा त्यस्तो कुनै पहलकदमी नहुने उनले बताए । कसरी हुन्छ, विद्यालयबाट लाभ लिन खोज्ने प्रवृत्ती रहेको उनको तर्क छ ।

मुद्दैमुद्दा, नेता शिक्षक र भाडा मोह

भरतपुरको मुटुमा रहेको चितवन माविको जग्गा नौ विगाहा १० कठ्ठा ११ धुर छ । यही जग्गामा यहाँका धेरै मान्छेले आँखा गाडेका छन् । विद्यालयमा यो वा त्यो बहानामा प्रवेश गर्ने व्यवस्थापन समितिका पदाधिकारीको ध्यान कसरी हुन्छ विद्यालयको जग्गा भाडामा लगाउने, आफ्ना मान्छेलाई दिलाउने र पैसा कमाउने मात्रै देखिएको छ । अहिले मुस्किलले ५ विगाहा जग्गा विद्यालयको बाँकी छ । अरु जग्गा भाडामा लगाइएको छ ।

चितवन मेडिकल कलेजले दुई विगाहा आठ कठ्ठा जग्गा दुई पटक गरेर लियो । उसले वार्षिक ५० लाख भाडा विद्यालयलाई बुझाउँछ । विद्यालयको व्यवस्थापन समितिमा बसेर जग्गा मिलाइदिने व्यक्तिहरु मेडिकल कलेजका हर्ताकर्ता बनेका छन् ।

पाँच वर्षका लागि सम्झौता भएको नजिकैको एक पेट्रोल पम्पलाई अस्वाभाविक रुपमा २० वर्षका लागि जग्गा भाडामा दिइएको छ ।

विद्यालयको जग्गा भाडाका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण विद्यालय समस्यामा परेको छ । विद्यालयको जग्गा भाडामा लगाउन नपाउने आदेश सर्वोच्चले दिएको छ । सोही आदेशका कारण विद्यालय समस्यामा परेको व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेले बताए ।

विद्यालयको जग्गामा छाप्रो हालेर बसेका केही व्यक्तिलाई हटाउने तयारी भैरहेको लामिछानेले बताए । ‘विद्यालयको जग्गा संरक्षण गर्नुपर्ने अवस्था छ नत्र लुछेर नै खाने भए,’ अध्यक्ष लामिछानेले भने, ‘मंसिर १५ गतेभित्र विद्यालयको जग्गामा बसेको लालटिन बजार हटाउँछौं, खै प्रहरीले कस्तो साथ दिन्छ हेरौं ।’

विद्यालयमा जग्गा भाडाका बिषयमा मुद्दैमुद्दा छन् । एकपटक विद्यालयविरुद्ध २९ वटासम्म मुद्दा परेका थिए । अहिले घटेर ४ वटामा झरेका छन् । करार दुई कर्मचारीलाई निकालेको विषयमा परेको मुद्दा विद्यालयले हारेको छ । उनीहरुलाई पनि पुनः जागिर दिनुपर्ने अवस्था विद्यालयको छ ।

विद्यालयमा पढाउने केही शिक्षकहरु जिल्लास्तरदेखि केन्द्रीय स्तरसम्मका नेता छन् । उनीहरु पढाउँदैनन् । पार्टीको काम र संगठनको काममा दौडिँदैमा ठीक्क हुन्छ । नेता धेरै हुँदा समस्या भएको अध्यक्ष लामिछाने स्वीकार्छन् । विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जानुमा यो पनि कारक र कारण भएको उनको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया