Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २५ वैशाख २०८० । झापा गाउँपालिकाले विपन्न परिवारका लागि निर्माण गरेको घर सोमवार हस्तान्तरण गरेको हो । रेडक्रस भवनमा एक कार्यक्रम गरी विपन्न परिवारलाई बस्नको लागि बनेको घरको चाबी उपभोक्ता समितिका अध्यक्षहरूलाई हस्तान्तरण गरिएको हो ।

पालिकाले ७ वटै वडामा १२ वटा उपभोक्ता समितिमार्फत २३८ वटा घर निर्माण गरेको हो । ती घर झापा गाउँपालिका , ह्याविटेट फर ह्युमानिटी नेपाल र सहारा नेपाल बिर्तामोडको त्रिपक्षीय साझेदारीमा निर्माण भएको हो । विपन्न परिवारहरूको घर निर्माणका लागि प्रतिघर झापा गापाको १ लाख १५ हजार , ह्याविटेट फर ह्युमानिटी नेपालको ८२ हजार आर्थिक लगानी र सम्पूर्ण प्राविधिक सहयोग सहारा नेपाल साकोसको रहेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए ।

अध्यक्ष शाहले झापा गाउँपालिकाभित्र रहेका विपन्न परिवारहरूको सम्पूर्ण फुसको घरहरू हटाएर टिनको छाना लगाउने अभियान नै चलाएर १ हजार परिवारलाई घर बनाइदिएको बताए । उनले आर्थिक वर्ष २०८०–८१ मा फेरि सय परिवारका लागि घर बनाइदिने जानकारी दिए ।

झापा गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ह्याविट फर ह्युमानिटी नेपालका प्रमुख एलिना इस्थापीट रहेकी थिइन् । कार्यक्रममा सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिना , राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डे , सहारा नेपाल सकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, झापा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, वडा अध्यक्ष राजकुमार यादवलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पूर्णचन्द्र मैनालीले गरेका थिए भने स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया