Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २५ वैशाख २०८० । कोशी प्रदेशको पुनः नामाकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियानअन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिले कोशी नामाङ्करणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेताविरुद्ध उनीहरु सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने र उनीहरुलाई होटलमा बस्न र कार्यक्रम नगर्न हल नदिन आग्रह गर्ने जनाएको छ । त्यस्तै आन्दोलनलाई शसक्त बनाउनका लागि वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्ने किरात राई यायोक्साका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिए ।

त्यस्तै,वैशाख २८ गतेदेखि आमसभा,संघर्ष समिति विस्तार,तालाबन्दी,कोशी नाम हटाउने, जलाउने, मेट्ने,कालो झण्डा गाड्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने उनले बताए।
यस्तै जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता बृहत भेला आयोजना गर्ने राईले बताए।

समितिले आफूहरूको आन्दोलन कुनैपनि पार्टी र नेतृत्व विशेषप्रति लक्षित नभएको प्रष्ट पारेको छ । त्यस्तै समितिले जनताले सडक संघर्ष गरिरहदा समस्या समाधानको साटो आन्दोलनलाई थप उत्तेजित पार्न र विभिन्न आरोप लगाएर संघर्षलाई भड्काउने काम कोशी नाम पक्षधर दलले गरेको आरोप लगाएको छ । नामाङ्करणको विरोधमा संघर्षरत जनतालाई राजावादी भनेर झुठा आरोप लगाउनु निन्दनिय भएको समितिको भनाइ छ ।

तपाईको प्रतिक्रिया