Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २० वैशाख २०८० । उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो ।

लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताउनु भयो ।

उहाँले मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा दरखास्त दिइसकेकाहरुले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने बताउनु भयो ।

उहाँले यस पटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताउनु भयो । उहाँले पहिला दरखास्त भरिसकेकाहरुको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गर्नुभयो ।

प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि बताउनु भयो ।

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर ९जीआईडीसी० बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो ।

 

तपाईको प्रतिक्रिया