Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौँ, १६ वैशाख २०८० । नेपालमा उत्पादित सवारीसाधन अब सहजै दर्ता हुने भएका छन् । भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल अनिवार्य गर्दा यसअघि भने नेपालमै बनेका नयाँ सवारीसाधन दर्ता हुन सकेका थिएनन् ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका–०६० मा नयाँ बुँदा थप गरी संशोधन गरेपछि अब नेपालमा बनेका सवारीसाधन पनि दर्ता हुने भएका हुन् । यसअघि ०७४ सालमा पनि यो कार्यविधि निर्देशिका संशोधन भएको थियो ।

विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा दुई नयाँ बुँदा थपिएको जनाएको छ । संशोधित कार्यविधि निर्देशिकामा नेपालमा बनेका सवारीसाधन दर्ता तथा नामसारीका लागि भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ । तर उत्पादक कम्पनीलाई भ्याट बिल बीजक भने आवश्यक पर्नेछ ।

‘यस निर्देशिकामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता, नामसारीलगायत प्रयोजनका लागि त्यस्ता सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन,’ पहिलो बुँदामा भनिएको छ ।

दोस्रो बुँदामा भने यी सवारीसाधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, नामसारीलगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर बीजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारामसमेत भर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो व्यवस्थापछि नेपालमा बनेका यात्रीलगायत सवारीसाधन दर्ता, नामसारी, पुनः दर्ता, लिलामी दर्तालगायत कामका लागि अवरोध खुला हुनेछ । नेपालमा विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सवारी प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकेका थिएनन् । पछिल्लो ६ महिनादेखि यात्रीले आफ्नो उत्पादन नै बन्द गर्नुपरेको थियो । अस्थायी रूपमा सवारी दर्ता खुलेको यात्रीका प्राविधिक प्रमुख ठाकुर पौडेलले जनाए ।

‘दर्ता नै नहुने समस्या समाधान भयो । अब सहजै दर्ता हुन्छ, यसमा द्विविधा छैन,’ उनले भने, ‘कानुन नै बनाउन सके मात्र स्थायी समाधान हुन्छ । यो ऐन नआउँदासम्मका लागि मात्र हो ।’

पहिला दर्ता गर्न जाँदा हुने कागजपत्रको झमेला भने अब नहुने उनको भनाइ छ । आगामी साता दर्ताका लागि एउटा मोटरसाइकलको प्रक्रिया अघि बढाउने तयारी भइरहेको समेत उनले बताए । विगत ६ महिनादेखि रोकिएको उत्पादन बिस्तारै सुरु गरिनेसमेत पौडेलले जनाए । ‘६ महिना बन्द भएपछि सप्लाई चेन पनि निष्क्रिय छ, त्यसलै उत्पादनमा गति लिन एक–दुई महिना लाग्छ होला,’ उनले भने । यात्रीले हालसम्म ८० भन्दा बढी मोटरसाइकल निर्माण गरेको छ ।

 

तपाईको प्रतिक्रिया