Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १३ वैशाख २०८० । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागि भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरुले ढुंगामुढा गरेका बताउनुभयो ।

उहाँले सो घटना हुनु दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताउनुभयो । उहाँले प्रहरीले ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराउनु भयो । गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेहरुलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताउनुभयो । उहाँले केही दिन भित्रैमा प्रहरीले सत्यतथ्य पत्ता लगाउने र दोषीलाई कानूनको कठघरामा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मिटरव्याजी पीडितहरुलाई न्याय दिने र पीडकलाई कानूनी कठघरामा ल्याउनेगरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडी बढाएको बताउनुभयो । उहाँले केही दिन अघि मिटरव्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी माग्नुभयो । उहाँले मिटरव्याजी पीडितहरुको समस्या समाधानका लागि सिंगो देश एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरुका बिचमा सहमति खोज्ने कोशिस भइरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया