Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २३ चैत २०७९ । तनहुँ क्षेत्र नम्बर –१ मा आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहोल तातिएको छ ।

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी बन्नु भएको थियो भने पौडेलको निकटतम प्रतिद्वन्दी एमालेका एकबहादुर रानामगरको १९ हजार ९ सय ८१ मत आएको थियो । कांग्रेसका बागी उम्मेदवार गोबिन्दराज जोशीको ६ हजार ८८६ मत आएको थियो त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का विकास सिग्देललाई ६ हजार ४४ मत प्राप्त भएको थियो । गत फागुन २५ मा पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ –१ खाली भएको हो र त्यहाँ बैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

सो निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई,नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल,रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले लगायत अन्य साना दलहरुसहित गरेर ९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले स्थानीयसँग मत माग्न थालिसकेका छन् ।

तीन जनाबीच प्रतिस्पर्धा

तनहुँ १ को उपनिर्वाचनमा अरु दलहरुले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेसका गोबिन्द भट्टराई,एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच नै हुने विश्लेषण गरिएको छ । कांग्रेसका भट्टराई लामो समयदेखि राजनीतिमा सक्रिय ब्यक्ति हुन् । उनको प्रतिनिधि सभामा उम्मेदवारी पहिलोपटक हो । त्यस्तै एमालेका खनाल नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक हुन् । खनाल गत मंसिर ४ मा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट एमालेका उम्मेदवार बनेका थिए । तर उनी पराजित भएका थिए । त्यस्तै वाग्ले २०७४ मा कांग्रेस सरकारको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए । उनी अहिले कांग्रेस छोडेर रास्वपामा लागेर उम्मेदवार बनेका हुन् । गोरखा घर भएका वाग्ले तनहुँ झरेर उम्मेदवार भएका हुन् । कांग्रेसका भट्टराई तनहुँकै स्थानीय वासिन्दा हुन भने एमालेका खनाल पनि तनहुँमै जन्मिएका हुन् ।

 

तपाईको प्रतिक्रिया