Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २ चैत २०७९। उपराष्ट्रपति चयनका लागि भोलि शुक्रबार मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ ।

आयोगले मतदान स्थल काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र तय गरेको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद ९राष्ट्रिय र प्रतिनिधि० र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।

संघीय र प्रदेश सभाका सांसदको मतभार भने फरक-फरक रहेको छ । संघीय संसदका एकजना सांसदको मत ७९ मतभारमा गणना हुन्छ भने प्रदेशका सांसदको मतभार ४८ गणना हुन्छ । संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३० जनाले मात्रै मतदान गर्न पाउनेछन् ।

भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङले मतदान गर्न पाउनुहुने छैन । त्यसैगरी तनहुँ –१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा विजयी भएपछि सांसद पद रिक्त भएको छ ।

नागरिकता प्रकरणमा चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि उक्त क्षेत्र पनि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो ।

त्यसैगरी सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् । संघीय सांसदको जम्मा मतभार २६ हजार ७० छ । त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) मतदानमा भाग नलिने र तटस्थ बस्ने जनाएको छ । राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो । राप्रपाका प्रतिनिधि सभामा १४ जना सांसद छन् । सबै प्रदेशमा गरेर २८ जना राप्रपाका प्रदेश सांसद छन् ।
प्रदेश सांसदको कूल मतभार २६ हजार ४ सय हुन्छ । उपराष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार २७५ मतभार ल्याउनु पर्ने हुन्छ । संघीय संसद र प्रदेश सभाका गरी जम्मा मतदाता ८ सय ८० जना रहेका छन् ।

उपराष्ट्रपतिका लागि तीनजना उम्मेदवार मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा गरेर दुई जना उम्मेदवार छन् भने विपक्षी एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिका लागि उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनमा आधिकारिक उम्मेदवारवारे अझै सहमति जुटेको छैन ।

आयोगका अनुसार मतदानका लागि संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल सकिन लागेकाले त्यस अघि नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

 

तपाईको प्रतिक्रिया