Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २५ फागुन २०७९ । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीका अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मत खसेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् ।

संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान गरेनन् ।

राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ सांसद छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीको संघीय संसदमा १ र प्रदेशसभामा ३ जना सदस्य छन् ।

त्यस्तै संघीय संसदका सदस्यहरु वर्षमान पुन, चन्द्र भण्डारी, लक्ष्मी साह कोइरी, टेकबहादुर गुरुङले पनि मतदान गरेनन् । फौजदारी अभियोग लागेका महतो फरार छन् भने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका गुरुङ निलम्बित छन् । त्यस्तै पुन र भण्डारी उपचारका क्रममा मुलुक बाहिर छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये रवि लामिछाने पदमुक्त भएका थिए भने जसपाका सहनाज रहमानको निधन भएको थियो ।

जसपाकी प्रदेशसभा सदस्य बिन्दुकुमारी यादव पनि बिरामी भएका कारण मतदानमा सहभागी भइनन् ।

चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।

राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ ।

संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक/एक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।

रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।

तपाईको प्रतिक्रिया