Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

खोटाङ, २३ फागुन २०७९ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चदोबाटोमा एक सय फिट अग्लो यलम्बरको सालिकको निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश एवं स्थानीय सरकारको करिब ११ करोड ५८ लाख १६ हजार रुपैयाँको लागतमा उक्त सालिक बन्दै छ ।

प्रदेश सरकारको ७० र स्थानीय सरकारको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको बुइपाका वडाअध्यक्ष दिनेश राईले बताए । उमा–तुवाचुङ–अन्सुली जेभीले २०७९ माघ मसान्तसम्म सक्ने गरी २०७९ असार २८ मा संझौता गरेको थियो । २०८० असोज सम्म निर्माण अवधि भए पनि यसै चैतभित्र सक्ने गरी काम भइरहेको इन्जिनियर राजन पुडासैनीले बताए । ‘हामीले यसै चैतभित्रमा सक्ने गरी काम गरिरहेका छौं,’उनले भने,‘केही कारणबस सकिएन भने असार सम्म चाहिँ जसरी पनि सकिन्छ ।’

पुडासैनीका अनुसार यलम्बरको मूर्तिको काम लगभग सकिन लागेको छ । मूर्तिकार धुन याक्खाको टिमले काठमाडौंमै निर्माण गरिरहेको उनले जनाए । ‘घाँटीदेखि मुनिको भाग (९० फिट) को काम सकिएको छ,’ उनले भने, ‘अब टाउकोको भाग मात्र बाँकी छ, त्यो पनि छिट्टै सकिन्छ ।’

सालिक बाहेक यलम्बर पार्कको संरचना पनि लगभग सकिन लागेको पुडासैनीले बताए । पार्कको भौतिक प्रगति ८० प्रतिशत पुगेको उनको भनाइ छ । उक्त ठाउँमा जग्गा विवादले काममा बाधा भएको थियो । त्यहाँ स्थानीयको समाधिस्थल भएकाले भत्काउन नदिए पछि काममा समस्या आएको थियो । जग्गा विवादले नौ महिनाका लागि २०८० असोजसम्मका लागि समय थप गरिएको छ । तर त्यो समयभन्दा अघिनै सम्पन्न गर्न सकिने पुडासैनीले बताए ।

आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाबाट पार्क निर्माण सुरु भएको हो । त्यतिखेर विनियोजित ७२ लाख रुपैयाँबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेस्टुरेन्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवन लगायतका भौतिक संरचना बनिसकेको राईले बताए । उक्त संरचना उपभोक्ता समिति मार्फत बनाइएको थियो ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया