Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ९ फागुन २०७९ । झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोडको मुक्तिचोकमा मङ्गलवार अपराह्न ४ बजे शरीरमा पेट्रोल छर्किएर विजय चौधरी नाम गरेका युवकले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । बिर्तामोड-७ निवासी ३४ वर्षीय चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे ।

उनी दुर्गा प्रसाईँको सहयोगीको रुपमा रहेका थिए । तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ । घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको डीएसपी रिजालले बताए । पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका चौधरीलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी अटोमा हालेर हस्पिटल पुर्‍याइएको बताइएको छ ।

उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको प्रहरीको भनाई छ । उनको बीएण्डसी हस्पिटलको एचडीयुमा उपचार भइरहेको छ । उनले आत्मदाह गर्नुको कारण अझै नखुलेको र स्वास्थ्य अवस्था सामान्य रहेको डीएसपी रिजालको भनाई छ ।

 

तपाईको प्रतिक्रिया