Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, ९ फागुन २०७९ । ग्यास सिलिन्डरको विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा। चन्द्रकान्त भण्डारीलाई बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ ।

नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा भइरहेको छ । उहाँलाई मंगलबार राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिने र बुधबारसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो ।

नेसनल बर्न सेन्टरका डा. सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘ईटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको उहाँले जानकारी दिनुभयो ।

नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् । उहाँलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि आईबीसीयू (इन्टेन्सिभ बर्न केयर युनिट)बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएको नेता कँडेलले जानकारी दिनुभयो ।

यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डरको बिस्फोट हुँदा सांसद डा। भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । घटनालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

 

तपाईको प्रतिक्रिया