Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

बुटवल, १९ माघ २०७९ । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

रक्त सञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुटवल उपमहानगर र रेडक्रस सोसाइटीबीचमा रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरू सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताउनुभयो ।

उहाँले समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनै पनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नु नपर्ने व्यवस्था भएको जानकारी दिनुभयो । यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने उहाँको भनाइ छ ।

समझदारीपछि बुटवल र रक्त सञ्चार केन्द्रकाबीच थप सिर्जनशील काम गर्न सहज वातावरण तयार भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । बुटवल र रक्त सञ्चार केन्द्रबीचको समझदारीलगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया