Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, ११ माघ २०७९ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको पक्षमा न्याय माग्दै झापामा पनि युवाहरूले प्रदर्शन गरेका छन् । युवाहरूले बिर्तामोडको मुक्ति चोकमा अनसनसहितको शान्तिपूर्ण ¥याली प्रदर्शन गरेका छन् ।

आचार्यको घटनालाई लिएर बिर्तामोड नगरपालिका ४ का माधवकुमार झाले मुक्ति चोकमा अनसन समेत बसेका छन् । बिहान ११ बजेदेखि पानी खाने तर अन्न नखाने गरी अनिश्चितकालीन अनसन थालेको झाले बताए । बैंक तथा वित्तीय संस्थाको दबाबको कारण आचार्यले आत्महत्या गरेको भन्दै त्यस्ता कर्मचारीहरूको छानबिन गरी आत्महत्या दुरुत्साहनको अभियोग तत्काल लगाउनुपर्ने उनको माग छ ।

त्यस्तै बिर्तामोड र मेचीनगरका स्वतन्त्र युवाहरूले शान्तिपूर्ण दबाब ¥याली निकालेका छन् । ‘जनता जलिरहेको राज्य आगो तापिरहेको छ, युवा जल्यो व्यवस्थालाई किन पोलेन ?, जलेर मर्नु र मरेर जल्नुमा फरक छ नि सरकार’ जस्ता प्लेकार्डसहित उनीहरूले मुक्ति चोकमा ¥याली प्रदर्शन गरेका हुन् ।

पहिलो चरणमा आफूहरूले शान्तिपूर्ण ¥याली गरेको बताउँदै बिर्तामोडकी पूजा कँडेलले यस्ता अन्यायका विरुद्ध अभियानकै रुपमा सञ्चालन गर्ने जानकारी दिइन् । मङ्गलवार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका आचार्यको आज बिहान उपचारका क्रममा निधन भएको थियो । उनका दुई छोरी र एक श्रीमती छन्।

तपाईको प्रतिक्रिया