Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

इलाम, १० माघ २०७९। इलामको सूर्योदय नगरपालिकाले कन्याममा नयाँ पर्यटकीय गन्तव्यका रूपमा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याकको निर्माण कार्यको थालनी गरेको छ ।

मंगलबार एक सय ५० मिटर लामो सिसाको पुल (ग्लास ब्रिज) र १३ दशमलव ५ मिलिमिटर साइकल ट्र्याक निर्माणका लागि शिलान्यास गरिएको हो । पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरले शान्तिचोकको मानेडाँडामा सिसाको पुल निर्माण गरी कन्याम देखि पूर्णे डाँडासम्म १३ दशमलव ५ किलोमिटर साइकल ट्र्याकका निर्माणको काम सुरु गरेको छ ।

नगरको गौरवको आयोजनाका रूपमा देशमै पहिलो पटक उक्त लम्बाई भएको सिसाको पुलको निर्माण सुरु गरिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उक्त आयोजनाको शिलान्यास गर्दै नगर प्रमुख राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो । नगर प्रमुख राईले भन्नुभयो, ‘‘सडक निर्माणले मात्र विकास हुँदैन, दीर्घकालीन आयआर्जनको स्रोत भनेको पर्यटन नै हो ।’’

उहाँले सिसाको पुल सहितको साइकल ट्रयाक निर्माणले त्यस क्षेत्रका स्थानीयको आयस्तरमा सुधार हुने बताउनुभयो । नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईका अनुसार प्रदेश १ सरकारको नव नवप्रवर्धन साँझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई वर्ष भित्रमा यी आयोजनाको काम सम्पन्न हुनेछन् ।

सूर्योदय नगरपालिकाका र प्रदेश १ सरकारको नवप्रवर्धन साझेदारी कोषको गरी ७ करोड ९३ लाख ६४ हजार रुपियाँ लागतका २०८१ माघमा काम सम्पन्न गर्ने गरी बीएस कन्ट्रसन कम्पनीले ठेक्कका लिएर काम शुरु गरेको नगरका आर्किटेक इन्जिनियर सिर्जन गदालले जानकारी दिनुभयो ।

एक सय ५० मिटर लामो उक्त सिसाको पुल अत्याधुनिक शैलीमा निर्माण गरिने जनाइएको छ । नगरले देशकै लामो र आधुनिक सिसाको पुल भएको दावी गर्दै आएको छ । उक्त पुल निर्माण भएपछि पर्यटकले पुलबाट सहजै नेपाल र भारतका बिभिन्न भूभागको अवलोकन गर्न पाउनेछन् ।

यस्तै १३ दशमलव ५ किलोमिटर साईकल ट्रयाक निर्माणका लागि सूर्योदय नगरपालिकाका र प्रदेश १ सरकारको नवप्रवर्धन साझेदारी कोषको गरी ५५ लाख ५० हजार रुपियाँको लागतमा २०७९ असार मसान्तसम्मा सक्नेगरी राजलवट निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो ।

साईकल ट्रयाकले सूर्योदयको वडा नम्बर ६, ७,८, १०, ११ र १२ नं.वडालाई समेट्ने छ । चियाबारीलाई फक्को मार्दै साईक्लिङ गर्न पर्यटकले ट्रयाक निर्माणको काम सम्पन्न भएपछि पाउनेछन् । पुल र साइकल ट्रयाक सञ्चालमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागवेली पथमा यात्रा गर्न पाउनेछन् ।

पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सूर्योदय नगरपालिका–६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय नगरपालिका–११ को पूर्णेडाँडासम्म साइकल ट्रयाक निर्माण हुनेछ । नगर प्रमुख राईले पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल ट्रयाक निर्माणले देशभरका पर्यटकको ध्यान तान्ने बताउनुभयो ।

परियोजना अन्तर्गत सूर्योदय ६ को कन्याममा ५९ साख ८३ हजार रुपियाँको लागतमा साँझा सुविधा केन्द्र निर्माण गरीनेछ । जहाँ ताजा सागसब्जी र तरकारीको संकलन र विक्री केन्द्र रहनेछ । यस्तै परियोजनाले लोपोन्मुख लेप्चाजातिको फेन्सीङ गुम्बाको मर्मत गरिने छ । परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गरेको छ । उक्त परियोजनाभित्रै कन्याम लगायतका स्थानमा चारवटा शौचालय निर्माण गरिनेछ ।

उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अर्गानिक उत्पादन सम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारी सम्बन्धी र जैविक मल उत्पादन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरीसकेको छ । आयोजना संचालन भएका आसपासका महिलालाई ब्यवसायिक बनाउने आयोजनाको लक्ष्य रहेको छ ।

इन्जिनियर गदालले उक्त परियोजना जिल्लामै पर्यटकका लागि ‘नयाँ प्रोडक्ट’ भएको जानकारी दिनुभयो । नगरपालिकाले यसअघि नै कन्याम र अन्तुको ब्युटिफिकेशन गरिसकेको छ । कन्याममा निजी क्षेत्रबाट स्वाई वाल्क र प्याराग्लाइडिङ संचालन गरिदै आएको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयको कन्याम र अन्तु स्वदेशी पर्यटकले बाह्रै महिना भिडभाड हुने गरेकाछन् ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया