Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

अस्ट्रेलिया, ९ मंसिर २०७९ । अध्ययनका लागि अस्ट्रेलिया आउन आवेदन दिएका नेपाली विद्यार्थीलाई दिने भिसा दर आधाले घटेको छ । अस्ट्रेलियाली गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली विद्यार्थीलाई दिइने भिसा दरमा आधाभन्दा बढीले कमी आएको देखिएको हो । त्यस्तै, नेपालबाट अध्ययनका लागि आउन चाहने नेपाली विद्यार्थीको भिसा आवेदनमा समेत गत वर्षको तुलनामा कमी आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अलग–अलग शीर्षकमा छुट्याइएको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको आवेदनमध्ये यस वर्ष जम्मा ६८ प्रतिशतलाई भिसा दिइएको छ । यो गत वर्ष ९३ प्रतिशत थियो । तथ्यांकअनुसार भेट कोर्स (व्यावसायिक शिक्षा) अध्ययन गर्न आउने नेपाली विद्यार्थीको भिसा आवेदन झन्डै ९० प्रतिशतले खारेजीमा परेको छ । यस आर्थिक वर्षको सेप्टेम्बरसम्ममा भेट कोर्स अध्ययनका लागि आवेदन दिएका जम्मा १२ प्रतिशत आवेदनकर्ताले मात्र भिसा पाएका छन् । गत आर्थिक वर्षमा ६९ प्रतिशतले पाएका थिए ।

अस्ट्रेलियास्थित अध्यागमन विभागको तथ्यांकअनुसार अस्ट्रेलियामा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्यामा नेपाली अहिले पनि चीन र भारतपछि तेस्रो स्थानमा छन् । पछिल्लो समयमा अधिकांश नेपाली विद्यार्थीले आवेदनका क्रममा बुझाएका कागजपत्र नक्कली रहेको भन्दै कडाइ गरिएपछि नेपाली विद्यार्थीले भिसा पाउने दरमा व्यापक कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । विद्यार्थीको आवेदन संख्यामा समेत यस वर्ष अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा कमी आएको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको सेप्टेम्बरसम्म अस्ट्रेलियामा अध्ययनका लागि २६ हजार बढीले आवेदन दिएका थिए । जसमा उच्च शिक्षा अध्ययनका लागि १३ हजार २ सय र भेट कोर्सका लागि करिब १३ हजारको आवेदन परेको थियो । यस वर्षको सोही समयमा उच्च शिक्षाका लागि ५ हजार २ सय र भेट कोर्सका लागि १ हजार ५ सयको मात्र आवेदन परेको छ । अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाता तथा माइग्रेसन एजेन्टहरूसमेत नेपाली विद्यार्थीहरूको भिसा दर पहिलेको तुलनामा धेरै कम भइरहेको स्विकार्छन् । उनीहरू पछिल्लो समयमा अस्ट्रेलिया सरकारले कडाइ गरेको भन्दा पनि नेपाली विद्यार्थीहरूले आवेदन दिँदा सही कागजपत्र पेस नगरेकाले समस्या आएको दाबी गर्छन् ।

 

तपाईको प्रतिक्रिया