Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, ७ मंसिर २०७९ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको मत गणना चार दिनभित्र सक्ने जनाएको छ । विवादले पुनस् निर्वाचन हुने र मत गणना हुन बाँकी रहेको क्षेत्र बाहेकको मतगणना सोमबार बेलुकासम्म सकिने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

उनका अनुसार दोलखा, स्याङजामा निर्वाचन भएपनि विवादको कारण मत गणना हुन सकेको छैन । बाजुरामा पनि विवाद छ । ‘यी तीन जिल्ला बाहेकको मत गणना ढिलामा सोमबारसम्म सक्छौं,’ उनले भने । एक पटकमा प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना भइरहेकोले नतिजा केही ढिलाइ भएको हुन सक्ने उनले बताए ।

काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको गणना सकिएको छ । त्यस्तै बढी मतदाता भएको झापा, मोरङमा पनि अन्तिम चरणमा रहेको उनले बताए । एउटा निर्वाचन क्षेत्रको मत गणना ५ ठाउँसम्म गणना भइरहेको उनले बताए ।

‘हिमाली जिल्लामा पनि हेलिकप्टरबाट मतपत्र ढुवानी गरेर गणना सुरु भइसकेको छ । अब गणना हुन बाँकी विवाद भएको जिल्लामा मात्रै बाँकी छ,’ भट्टराईले भने । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणना स्थलमा पुर्‍याइएको आयोगले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया