Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ४ मंसिर २०७९ । निर्वाचन आयोगले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । आयोगले आइतबार राति पत्रकार सम्मेलन गरी देशभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको परिणाम आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको बताउनुभयो । उहाँले अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मतदान भएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यो संख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही प्रतिशत वृद्धि हुने बताउनुभयो । उहाँले केही जिल्लाका मतदान केन्द्रमा विभिन्न कारणवश केही समय मतदान कार्य रोकिएको र राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरुसँग छलफल गरी पुनः सुचारु गरिएको पनि जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानलाई शान्तिपूर्ण बनाउने प्रयासका बाबजुद पनि सुर्खेत, नवलपारसी, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन हुन पुगेको बताउनुभयो । उहाँले स्थगन भएका स्थानमा तथ्यगत विवरणको आधारमा जनताको अभिमतलाई कदर गर्नको निम्ति मतदान पुनः गर्न निर्देशन दिएको बताउनुभयो ।

आयोगले स्थगन वा रद्ध भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिन भित्रमा पुनः मतदान गराउने निर्णय गरिसक्न उपयुक्त व्यवस्था मिलाउनको निम्ति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका क्रममा बाजुरामा झडप हुँदा एक जना सर्व साधारण नागरिकको मृत्यु भएको बताउनु भयो । उहाँले अन्य केही स्थानमा भएको झडपमा केही नागरिकहरु घाइते भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मतदानका क्रममा बाजुरामा झडप हुँदा एक जना सर्व साधारण नागरिकको मृत्यु भएको छ । त्यस्तै अन्य केही स्थानमा केही नागरिकहरु घाइते हुनुभएको छ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा भएका घाइतेको उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

 

तपाईको प्रतिक्रिया