Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ३ मंसिर २०७९ । झापाको सदरमुकाम भद्रपुर-७ स्थित वीरेन्द्र मावि मतदान स्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । नोट भोट खतरा सङ्केत उल्लेख गरिएको दुई वटा शङ्कास्पद वस्तुलाई सेनानी आकृती घिमिरेको कमान्डमा आएको टोलीले शनिवार बिहान पौने सात बजे डिस्पोज गरेको हो ।

उक्त शङ्कास्पद वस्तुभित्र रेड बुलको बट्टाभित्र बालुवा र बिजुलीको तार मात्र राखेर तर्साउन खोजिएको डिस्पोजल टोलीले जानकारी दिए ।
निर्वाचनलाई प्रभावित पार्न उद्देश्यले अज्ञात समूहले वीरेन्द्र मावि मतदान स्थलको पश्चिम पट्टिको गेटमा शुक्रबार राती ९ बजेर ४० मिनेटमा कार्टुनले प्याक गरिएको वस्तु फेला परेको थियो । त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा फेरि अर्को शङ्कास्पद बस्तु झोला फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राती फेला परेकोले शङ्कास्पद वस्तुलाई बिहान मात्रै सेनाले डिस्पोज गर्‍यो । एउटै मतदान स्थलमा दुई वटा शङ्कास्पद वस्तु फेला परेसँगै त्यहाँका स्थानीयमा त्रास फैलिएको थियो ।

तपाईको प्रतिक्रिया