Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
झापा, २९ कार्तिक २०७९ । मनमोहन प्राविधिक विश्व विद्यालय स्कुल अफ इन्जिनियरिङले स्थापनाको उद्धेश्य र भावी योजनाको बारेमा अन्तरक्रिया गरेको छ । मोरंगको बुढीगंगा–४ मा रहेको विश्वविद्यालयले स्नातकतहको विद्यार्थी भर्ना अभियान २०७९/८० का बिषयमा शनिबार दमकमा पत्रकारसँग अन्तरक्रिया गरेको हो ।

प्रदेश १ सरकारले प्रदेश सभाबाट स्वायत्त कानुन निर्माण गरी २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी विश्वविद्यालयको स्थापना गरेको विश्व विद्यालयका उपकुलपती डा। सुवास श्री पोखरेलले बताउनुभयो । प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवन उपयोगी बनाउने आदर्शबाट स्थापित मनमोहन स्मृति पोलिटेक्निकको सफल संचालन र पठनपाठन प्रक्रियाबाट अभिप्रेरित भई सोही स्थानमा स्थापना भएको मनमोहन प्राविधिक विश्वविद्यालय देशको पहिलो प्राविधिक विश्वविद्यालय भएको उपकुलपती डा.पोखरेलले बताउनुभएको छ ।

प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षाको अवसर सीमित भएकै कारण देश विकासमा पछाडि परिरहेको बताउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न सक्ने शिक्षा पद्धति आजको आवश्यकता रहेको वहाँले बताउनुभयो । देशका युवाहरुलाई प्राविधिक शिक्षा तर्फ अग्रसर बनाउन सके परनिर्भरता अन्त्य हुने साथै देश विकासको महाअभियान सफल हुने उपकुलती डा. पोखरलको भनाइ छ ।

यस्तै, यस विद्यालयको मूख्य उद्देश्य भनेको मुलुकको सर्वाङगीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तराष्ट्रिय विकास क्रमसँग आवद्ध गर्न सक्ने मानव संशाधन विकास गर्न र विज्ञान प्रविधि तथा व्यवसायिक क्षेत्रको ज्ञान र सीपका साथै सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने रहेको छ ।

यस विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साईन्स एण्ड टेक्नोलोजी र साइन्स अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन हुनेछन् भने, हाल स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहको बी।ई।ईन सिभिल इन्जिनियरिङ र बी।ई।ईन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका कार्यक्रमहरु सञ्चालनमा रहेको जनाइएको छ ।

यस्तै, स्कुल अफ इन्जिनियरिङको भावी पाँच वर्षे योजना अन्तर्गत शैक्षिक सत्र २०८०/८१ बाट स्नातक तहमा ब्याचलर इन आर्किटेक्चर र स्नातकोत्तर तहमा एम।एससी।इन स्ट्रक्चरल इन्जिनियरिङ, शैक्षिक सत्र २०८३/८७ सम्ममा क्रमशः ब्याचलर इन बायोमेडिकल इन्जिनियरिङ, बी.इ.इन मेकानिकल वा अटो मोबाइल इन्जिनियरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ तथा विद्यावारिधीतर्फ सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्यले काम सुरु गरिएको छ । तीनवटै स्कुलहरु सञ्चालनमा आएपछि भावी दश वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा विभिन्न विषयहरु सञ्चालन गर्ने लक्ष्य रहेकोले जसका कारण २ हजार ८ सय ३१ जना विद्यार्थी लाभान्वित हुने बताइएको छ ।

यस्तै, विश्वविद्यालयले शैक्षिक सत्र २०७९/८० मा बी.ई.ईन सिभिल इन्जिनियरिङ तर्फ ४८ तथा बी.ई.ईन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ २४ जना विद्यार्थी भर्ना लिने लक्ष्य राखेको विश्वविद्यालयका रजिष्ट्रार दिलनाथ फुयालले बताउनुभयो ।

प्रवेश परीक्षाको आवेदनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा जिव विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह, ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको कुल पूर्णाङको कम्तिमा ४५ प्रतिशत अंक प्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणीतमा कम्तिमा ४५ प्रतिशत अंक ल्याइ उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै,Letter Grading भएमा NEB को हकमा सबै विषयहरुमा Final Grade मा न्यूनतम C Grade प्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणीतमा कम्तिमा C ल्याएको हुनुपर्नेछ । प्रविणतापत्र तह वा उच्च माध्यमिक तहमा जिवविज्ञान विषय लिने विद्यार्थीले छुट्टै गणित विषय लिई कम्तिमा ४५ प्रतिशत वा C ग्रेड ल्याइ फिजिक्स, केमेस्ट्री र गणीतमा कम्तिमा ल्याएको ४५ प्रतिशत ल्याएको हुनुपर्नेछ ।

विश्वविद्यालयले ४ बर्षे स्नातक तह अन्तर्गत सिभिल इञ्जिनियरिङमा नेपाली विद्यार्थीका लागि ५ लाख ८५ हजार, विदेशीका लागि ८ लाख ७७ हजार ५ सय र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा नेपालीका लागि ५ लाख ७५ हजार र विदेशी विद्यार्थीका लागि ८ लाख ६२ हजार ५ सय रुपैँया शुल्क तोकेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयले काठमाण्डौ विश्वविद्यालय तथा त्रिवि अन्तर्गतको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम सँग सम्झौता गरिसकेको छ भने, अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु सँग सम्झौता गर्ने कार्य अघि बढाएको जनाएको छ ।

विद्यार्थी भर्नाका लागि आवेदन फारम शुल्क रु.१८०० सहित यही कात्तिक ३० गतेसम्मको समय निर्धारण गरिएको छ भने, आवेदन फारम शुल्क विलम्ब सहित रु.२५०० लाग्नेछ । विश्वविद्यालयमा विद्यार्थी भर्ना नेपाल सरकारले तोकेको सङ्ख्याअनुसार निर्धारण गरिएको छ । प्रवेश परीक्षा सम्बन्धि थप जानकारीका लागि यस विश्वविद्यालयको वेबसाइट mtu.edu.np वा soe.mtu.edu.np मा गएर हेर्न सकिने छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया