Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २४ कार्तिक २०७९ । निर्वाचन आयोगले मतदानका दिन गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारीसाधन प्रयोग गर्न दिने भएको छ । यस्ता मतदातालाई सवारीसाधन प्रयोग गरी मतदान केन्द्रसम्म पुर्‍याउन र फर्किनका लागि सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृतरनिर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

यसअघि सार्वजनिक सवारीसमेत चलाउने सक्ने आयोगका पदाधिकारीहरूले बताएका थिए । तर सुरक्षा संयन्त्रले सुरक्षा चुनौती रहेको सुझाव दिएपछि आयोग सार्वजनिक सवारी चलाउने अडानबाट पछि हटेको हो ।

निर्वाचन आयोगले मतदानस्थल अपांगमैत्री बनाउन पनि निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा अपांगता भएका मतदाता घिस्रँदै गएको भिडियो र फोटो सार्वजनिक भएपछि आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न आउने अपांगता भएका व्यक्तिलाई सहजै पहुँच हुने संरचना बनाउन निर्देशन दिएको हो । ‘मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपांगता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त मतदाताका लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्चित गर्ने,’ आयोगले दिएको निर्देशनमा भनिएको छ ।

मतदान कक्ष बनाउँदा, मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाउन पनि आयोगले भनेको छ । होचो कद वा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मत संकेत गर्न सक्ने गरी संरचना बनाउन आयोगले निर्देश गरेको हो । आयोगका अनुसार हरेक मतदान केन्द्रमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताका लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्नुपर्ने हुन्छ ।

आयोगसँगको सहकार्यमा एक संस्थाले मुलुकभरको एक सय मतदान केन्द्रलाई अपांगमैत्री बनाउन अनुमतिसमेत लिइसकेको छ । ती मतदानस्थलमा र्‍यामको समेत व्यवस्था हुने आयोगले जनाएको छ । यी केन्द्रमा सांकेतिक भाषा सूची, कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रंगीचंगी डोरी तथा पोल हुने आयोगले जनाएको छ । ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिने आयोगले जनाएको छ ।

दृष्टिविहीन, शारीरिक अशक्तता भएको, अरू कुनै कारण आफ्नो मत संकेत गर्न नसक्ने मतदातालाई एकाघरको परिवारको सदस्यमार्फत मतदान गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ । पूर्ण अशक्त वा अति अशक्त अपांगताको प्रमाणपत्र भएको, दुर्घटनामा परी एक्लै मतदान कक्षमा जान नसक्ने व्यक्तिले पनि अरूको सहायतामा मतदान गर्न सक्नेछन् । दृष्टिविहीन र शारीरिक अशक्तता भएका मतदाताले आग्रह गरेमा मतदान अधिकृतले मतदाताको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने हुन्छ ।

 

तपाईको प्रतिक्रिया