Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २३ कार्तिक २०७९ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना कार्यसमेतका लागि सुरक्षा निकायबाहेक दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउन लागेको हो ।

आयोगका उपसचिव कमल ज्ञवालीले आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिमहरू सञ्चालन भइरहेको जानकारी दिए ।

जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा गठित समितिहरूले निजामती सेवा र सार्वजनिक निकायमा काम गर्ने कर्मचारीलाई पदीय हिसावले विवरण लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरेका थिए ।

सिफारिस भएका कर्मचारीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गरिसकेको छ ।

‘देशभर निर्वाचनका लागि आवश्यक जनशक्ति नियुक्त भइसके, अहिले तालिम सञ्चालन भइरहेको छ,’ उपसचिव ज्ञवालीले भने, ‘कर्मचारीहरू मतदानको तीन दिन अगाडि नै मतदानस्थलमा पुगिसक्नुपर्ने हुन्छ । त्यसअनुसार अब दुई दिनपछि कर्मचारीहरू मतदान केन्द्रतर्फ खटिनेछन् ।’

 

तपाईको प्रतिक्रिया