Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २९ असोज २०७९ । नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।

सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । स्क्रब टाइफस सबैभन्दा बढी बैतडीमा २१०, डडेल्धुरामा १५७, कञ्चनपुरमा १३४, पाल्पामा ११३, सङ्खुवासभामा १०१, चितवनमा ८४ र काठमाडौंमा ४४ जनामा पुष्टि भएको छ । अन्य जिल्लामा एक सयभन्दा कममा स्क्रब टाइफसका बिरामी भेटिएको डा. दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरेक वर्ष यो मौसममा स्क्रब टाइफसका बिरामी देखिने गर्दछन् । गत वर्ष ५० भन्दा बढी जिल्लाबाट १७ सय ७३ जनामा स्क्रब टाइफस पुष्टि भएको उहाँले बताउनुभयो ।

के हो स्क्रब टाइफस

डा. दाहालका अनुसार स्क्रब टाइफस “ओरिन्सिया सुसुमासी” जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किराको टोकाइबाट मानिसमा सर्छ । यो जीवाणु मुसाको शरीरमा पाइन्छ । सङ्क्रमित किराले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ ।

यदि समयमा उपचार गरिएन भने यसले गम्भीर रूप लिन सक्ने चिकित्सकहरूको भनाइ छ । स्क्रब टाइफसलाई बेवास्ता गरेमा मस्तिष्क, कलेजो, फोक्सो आदिको सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिस्फंक्सन)को अवस्था आउँछ ।

डा. दाहालका अनुसार उच्च ज्वरो आउने, आँखा रातो हुने, धेरै टाउको दुख्ने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखिने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, खोकी वान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने स्क्रब टाइफसका मुख्य लक्षणहरू हुन । किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजंगल जाँदा लामो बाहुला भएको कपडा र जुत्ता लगाउने र शरीरको खुल्ला भागमा कीटनाशक मलमको प्रयोग गर्दा यसको टोकाइबाट बच्न सकिने डा.दाहालको भनाइ छ ।

घर वरिपरिका खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र घर वरिपरिको वातावरण सफा राख्न, मुसा नियन्त्रण गर्न उपयुक्त किसिमले अन्न भण्डारण गर्ने डा। दाहालले सुझाव दिनुभयो ।गोरखापत्र अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया