Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २५ असोज २०७९ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया प्रारम्भ भएको जनाएको छ । आयोगले सामाजिक सञ्जालमार्फत् पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसार नगर्न भन्दै सचेत गराएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षक, कर्मचारीलाई त्यसरी निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा नलाग्न सचेत गराएको हो । कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरू राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाइ बधाइ र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्रीहरूको सेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ ।’

निर्वाचन आचारसंहिता, २०७९ ले शिक्षक, कर्मचारी, गैरसरकारी संस्थामा आबद्ध कर्मचारीहरूलाई पनि प्रचारप्रसारमा लाग्न प्रतिबन्ध लगाएको भन्दै आयोगले त्यस्ता कार्यमा संलग्न नहुन भनेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया