जेबि खड्का
गौरादह, १६ असोज २०७९ । हिन्दुहरुको महान पर्व दशैं आएको संकेत गर्ने उद्देश्यले गौरादह जेसीजले चङ्गा चेट प्रतियोगिता संचालन गरेको छ। समाज रुपान्तरण र युवाहरुमा नेतृत्व बिकासका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको जेसीजले यस बर्ष दशैंमा चङ्गा चेट प्रतियोगिता आयोजना गरेको छ।
बिशेष गरि चार्डपर्बको समयमा उडाइने चङ्गा पछिल्लो समयमा हराउदै गएको छ। एक समयमा लिङ्गे पिङ र चङ्गा उडेको देखेपछि दशैं आएको आभास हुने गरेको थियो। चार्डपर्बका समयमा देखिने चङ्गा आजभोलि त्यसको प्रचलन नै हराइ सकेकाले सम्झनाका लागि चङ्गा चेट प्रतियोगिता आयोजना गरिएको गौरादह जेसीज अध्यक्ष तथा कार्यक्रमका सभापति बिनिता कटुवालले बताइन। यस प्रकारको प्रतियोगिता नभएकाले जेसीजले पहिलो पटक आयोजना गरेको पनि अध्यक्ष कटुवालले बताईन। प्रतियोगितामा उत्कृष्ट चङ्गा उडाउने एक जना ब्याक्ती छनौट गरिएको कटुवालले बताएकि छन।
प्रतियोगिता गौरादह जेसीजको आयोजना तथा लायन्स क्लब अफ गौरादह युनाइटेडको सह आयोजनामा सम्पन्न गरिएको थियो। जेसीजले आयोजना गरेको चङ्गा चेट प्रतियोगिता कमल-७ , गौरादह-५ र मोरङको संगम स्थलको रूपमा रहेको रतुवा खोला परिसरमा सम्पन्न गरिएको थियो। लामो समय पछाडि प्रतियोगिताका रुपमा आयोजना गरिएको चङ्गा चेट खेलमा १० जना खेलाडीहरु सहभागी भएका थिए। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापा सदस्य कपिलमणी काफ्लेले कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेका थिए। संस्थाका कोषाध्यक्ष तथा लायन्स क्लब अफ गौरादह युनाइटेड अध्यक्ष भानु आचार्य, राजनीतिज्ञ तथा समाजसेवी ब्यक्तित्व मदन अधिकारी, गौरादह जेसीजका पुर्व अध्यक्ष तारा कुमार श्रेष्ठ, लायन्स क्लब अफ गौरादहका अध्यक्ष श्याम दाहाल, कार्यक्रममा कमल नगर जेसीजका अध्यक्ष नारायण बस्नेत, गौरादह जेसीजका पुर्व अध्यक्ष राजु घिमिरे लगायतले शुभकामना मन्तव्य रखेका थिए। चङ्गा चेट कार्यक्रमका कार्यक्रम संयोजक मनिसा भुजेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा जेसी महासचिव खड्ग बहादुर थापाले कार्यक्रम संचालन गरेका थिए।