Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १ असोज २०७९। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार यो पटक १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको संख्या कायम भएको हो । आयोगका अनुसार सर्वाधिक मतदाता मोरङ र मनाङमा कम रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा २ लाख ५४ हजार ८ सय ४७ जना मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ८८ लाख ४७ हजार ५ सय ७९ महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष तथा १ सय ८५ जना अन्य गरेर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता सहभागी हुन पाउने भएका छन् ।

यो संख्या निर्वाचन घोषणा भएको मिति अर्थात २०७९ श्रावण १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी २०७९ मंसिर ३ गते सम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको संख्या हो । मतदाताको संख्या थपिए पनि नाम दोहोरिएका र मृत्यु भएका गरेर २ लाख ३५ हजार मतदाता हटेको आयोगको भनाई छ ।

७ वटा प्रदेश मध्ये सबै भन्दा धेरै मतदाता बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४ सय ९२ जना रहेका छन् भने सबै भन्दा कम मतदाता कर्णाली प्रदेशमा १० लाख ८ हजार ४ सय ३ जना रहेका छन् । यस्तै, सबै भन्दा धेरै मोरङ ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेका छन् भने सबै भन्दा कम मतदाता मनाङमा ६ हजार ७ सय ७९ जना मात्रै मतदाता रहेका छन् ।

आयोगका अनुसार सबै भन्दा बढी मतदान केन्द्र मधेश प्रदेशमा रहेका छन् । मधेश प्रदेशमा ४ हजार २ सय ३५ मतदान केन्द्र रहेका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा १ हजार ४ सय ३ मतदान केन्द्र रहेका छन् ।

यस्तै, सबै भन्दा धेरै मतदान केन्द्र मोरङ जिल्लामा ८ सय ३९ रहेका छन् भने सबै भन्दा कम मनाङमा २८ वटा मात्रै मतदान केन्द्र रहेका छन् । यो पटक देशका १० हजार ८ सय ९१ मतदानस्थलमा २२ हजार २ सय २६ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावलीमा प्रकाशित मतदाताको विवरणलाई सही र त्रुटिरहित बनाउन प्रयास गरिरहेको आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया