Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

कञ्चनपुर, १ असोज २०७९ । महाकाली नदीमा जलस्तर बढेपछि शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ । शनिबार दिउँसोदेखि महाकालीमा पानीको बहाव बढ्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार साँझको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ३० हजार क्यूसेक पुगेको छ । झण्डै सय वर्ष पुरानो शारदा ब्यारेजको पुल जीर्ण भएका कारण महाकालीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्ने बित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइने गरिएको छ ।

यसैगरी, शुक्रबार रातिदेखि जिल्लाका विभिन्न खोलानालामा आएको बाढीका कारण विस्थापित भएकाहरु अझै घर फर्किन सकेका छनन् । नदीहरुमा जलस्तर घटेपछि घरभित्र पानी र हिलो भरिएका कारण विस्थापितहरु घर फर्किन नसकेका हुन् । शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा गरी ४ सय बढी परिवार विस्थापित भएका छन् ।

लगातारको अविरल वर्षपछि जिल्लाका दोदा, बनहरा र स्यालीलगायत नदीमा आएको बाढी बस्तीमा पसेको छ । दोदा नदीको बाढीले लालझाडी गाउँपालिकाका पाँचवटै वडाहरु जलमग्न बनेका छन् । लालझाडीमा बाढीका कारण डेढ सय परिवार विस्थापित भएका छन् । यसैगरी बनहरा नदीको बाढीले शुक्लाफाँटा नगरपालिकाका ४० बढी परिवार विस्थापित भएको डिएसपी शाहले बताए ।

कृष्णपुर नगरपालिका ५ को पवित्रा बस्तीको सुकुम्बासी मुक्तकमैया शिविरका ७० परिवार विस्थापित भएका छन् । मछेली नदीको बाढीका कारण कृष्णपुर ४ मा पनि ८० परिवार विस्थापित भएका छन् । पुनर्वास नगरपालिका ५ को सिमरीमा पनि दोदाको बाढी पस्दा डेढ सय बढी परिवार विस्थापित भएका छन् । विस्थापित सबै परिवार नजिकको विद्यालयमा बसेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया