Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २७ भदौ २०७९ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ । महाशाखाका अनुसार आज (सोमबार) बिहान ७ बजेको मापन अनुसार कोशी, नारायणी, कणााली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहेको छ।

यस्तै, आज सिन्धुपाल्चोक, रसुवा, गोरखा, लमजुङ, रुकुम पश्चिम, सल्यान, सुर्खेत र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ । ईलाम, धादिङ, रोल्पा, डोटी, डडेल्धुरा, बैतडी र आसपास भई बहने केही स-साना नदीहरुमा पनि बहाव हुन सक्ने विज्ञको पूर्वानुमान रहेको छ ।

भोली(मंगलबार) बाग्मती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको तराइ भु-भाग भई बहने केही स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तैगरी २९ गते बुधबार गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराइ भू-भाग भई बहने स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता तहसम्म पुग्न सक्ने र सुदूरपश्चिम प्रदेशको तराइ भू-भाग भई बहने अधिकांश नदिहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा खतरा तह सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

सरोकारवालाका लागि परामर्श जारी गर्दै आगामी ३ दिन कोशी, नारायणी, कणााली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको भएतापनि बहाव बढ्न सक्ने भएकोले तटिय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

यस्तैगरि विशेष पूर्वानुमान र सरोकारवालाका लागि परामर्श दिँदै भदौ ३० र ३१ गते लुम्बिनी प्रदेशको तराइ भू-भाग भई बहने स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता तहसम्म पुग्न सक्ने र सुदूरपश्चिम प्रदेशको तराइ भू-भाग भई बहने अधिकांश नदिहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा खतरा तह सम्म पुग्न सक्ने पूर्वानुमान गरिएकोले नदी तटीय क्षेत्रहरु तथा तराइको डुबान भइरहने होंचा भू-भागहरुमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया