Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बिर्तामोड, १६ भदौ २०७९ । चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो रुपमा समाधान गर्न सरोकारवालाहरु प्रतिबद्ध बनेका छन् । चिया क्षेत्रका समस्यालाई दिगो रुपमा समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने प्रदेश नं.१ का मन्त्रीहरुसहितका सरोकावालाहरुले प्रतिबद्धता जनाएका छन् । संवाद समूह प्रदेश नं. १ को आयोजनामा बिहीबार बिर्तामोडमा भएको छलफलमा सरोकारवालाले सात बुँदे साझा प्रतिबद्धता जनाए ।

प्रदेश नं.१ का कृषि मन्त्री झलकबहादुर मगर (सन्देश), भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी, सांसद जसमाया गजमेर लगायतका सरोकारवालाले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै देखिएका समस्या नीतिगत र व्यवहारिक रुपमा समाधान गर्ने बताएका छन् । वार्षिक चार अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गर्ने प्रदेश १ को मुख्य नगदेबाली प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नं. १ लाई चिया विशेष क्षेत्र घोषणाको पहल गर्ने सरोकारवालाको पहिलो प्रतिबद्धता छ ।
त्यस्तै चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति–निर्माण गर्ने र तत्काल पहल थाल्ने जनाइएको छ ।

त्यस्तै चिया निर्यातमा भारतीय अवरोध हटाउन संघीय सरकारसँग समन्वय गरी कुटनीतिक पहल गर्ने प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता जनाइएको छ । श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी तथा नीति चिया क्षेत्रमा कार्यान्वयन गर्ने÷गराउने, यस प्रदेशमा चियाको गुणस्तर प्रशिक्षण गर्ने ल्यावको स्थापना गर्न समेत सरोकारवाला प्रतिबद्ध बनेका छन् । त्यस्तै आवश्यकता बमोजिम प्रदेश नं.१ मा चिया विकास बोर्ड स्थापनाको पहल गर्ने र चिया अक्सन बजारको व्यवस्थान गर्न प्रदेश सरकारमार्फत तत्काल पहल थाल्ने प्रतिबद्धता समेत जनाइएको छ । उक्त प्रतिबद्धता पत्र सरोकारवालाको हस्ताक्षरपछि बिहीबार नै कृषिमन्त्री मगरमार्फत प्रदेश सरकारलाई बुझाइएको छ ।

छलफलमा प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, राजनीतिक दलहरुका तर्फबाट नेपाली कांग्रेसका सभापति देउमान थेवे, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रदेश १ कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेल लगायतले चिया क्षेत्रका समस्या र सम्बोधन गर्नुपर्ने विषयसहित आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा चिया श्रमिकहरुको तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इञ्चार्ज भूपाल सापकोटा र नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, चिया किसान तथा चिया सहकारीको तर्फबाट पर्वत डाँगी, नेपाल चिया उत्पादक संघको तर्फबाट सुरेश मित्तल र राष्ट्रिय चिया तथा कफि विकास बोर्डका तर्फबाट इन्द्र अधिकारीले चिया क्षेत्रको अवस्था र विषयगत क्षेत्रका समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

राजनीतिक दलहरुको तर्फबाट कांग्रेस सभापति थेवे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष वेदराज रेग्मी, जसपाका सचिव सिवन सोराली मगर, लोसपाका अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका अध्यक्ष केशवप्रसाद ओझाले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । त्यस्तै चिया उत्पादक संघका तर्फबाट अध्यक्ष मित्तल र कोषाध्यक्ष विनयराज पोखरेल, साना चिया किसान एवम् सहकारीको तर्फबाट केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ, पर्वत डाँगी, चिया विज्ञ मनोज ढकाल लगायतले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
त्यस्तै श्रमिकहरुको तर्फबाट नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका संयोजक सन्तकुमार राई र वरिष्ठ उपाध्यक्ष सहीकुमार राई, श्रमिक संघका अध्यक्ष तामाङ, अखिल नेपाल टे«ड युनियन महासंघका सापकोटा, नेपाल टे«ड युनियन कांग्रेस झापाका तर्फबाट यज्ञप्रताप अधिकारी लगायतले हस्ताक्षर गरेका छन् । छलफलको निष्कर्ष पत्रकार तथा सहजकर्ता सुमन पुरीले प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया