Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

हेटौडा, २९ कात्तिक  । पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको क्षेत्र हो हेटौंडा । स्थानीय पर्यटन व्यवसायीकै भनाइमा यहाँ पर्यटकीय गतिविधि लगभग शून्य छ । यहाँका होटलहरु राजमार्गका यात्रुहरुमा मात्र निर्भर छन् ।

हेटौंडाको पर्यटक आगमन वर्षौंदेखि एउटै रफ्तारमा छ, बाइरोडको मोड छिचोल्दै गुड्ने डिजेल गाडीजस्तो । खासै पर्यटकीय गतिविधि नहुनु र पर्यटकको आगमन दरमा तीव्रतर वृद्धि नआउनुले हेटौंडामा ठूला लगानीसहितका होटलहरु भित्रन सकेका छैनन् ।

पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मिलनविन्दु नजिकै भए पनि हेटौंडाले खासै पर्यटकलाई भित्र्याउन सकेको छैन । हेटौंडाका होटलहरु अहिले दुई पाटोबाट मात्रै धानिएका छन्, सडकमार्ग भएर आवात–जावत गर्दा बास बस्ने पाहुना र अर्को सभा सेमिनार तथा प्रादेशिक प्रशासनिक काममा आउने सेवाग्राही । यसबाहेक हेटौंडा नै घुम्न भनेर आइपुग्ने पर्यटकको संख्या निकै न्यून छ ।

मकवानपुरकै थाहा नगरपालिका ९दामन, पालुङ, चित्लाङ र बज्रबाहराही क्षेत्र० मा पर्यटकीय चहलपहल बाक्लो छ । मार्खु र कुलेखानी आसपासको मानवनिर्मित ताल इन्द्रसरोबरको आसपास क्षेत्रमा पनि दैनिक सयौं पर्यटक पुग्छन् । तर, हेटौंडाले ती पर्यटकलाई आफूसम्म तान्न सकेको छैन ।

धेरैलाई हेटौंडामा पनि घुम्न मिल्ने गज्जबका स्थानहरु छन् भन्ने जानकारी नै छैन । त्यसैले हेटौंडाको पर्यटकीय चहलपहल र होटलहरु सुस्त गतिमा चलिरहेका छन् । हेटौंडाको सहीद स्मारक वर्षमा ५ लाख पर्यटकले घुम्ने स्थान हो ।

यहाँ विभिन्न जिल्लाबाट नै पर्यटकहरु आउँछन्, तर राजमार्गको सहज पहुँच रहेका कारण यहाँ आएकालाई घुमफीर गर्न बढीमा ३ घण्टा नै काफी नै हुन्छ । त्यसपछि हेटौंडामा कहाँ घुम्न जाने जिल्ला बाहिरका आन्तरिक पर्यटकलाई कुनै पत्तो छैन । हेटौंडा सहीद स्मारक आउनएर घुम्नेहरु किन सौराह लाग्छन् कि त सिमभञ्ज्याङ । हेटौंडामा एक रात पर्यटकलाई बसाउने गरी कुनै सम्भावित गन्तब्यलाई प्रर्वद्धन गरिएका छैनन् ।

पर्यटकीय क्षेत्रका रुपमा सम्भावना बोकेका हेटौंडा आसपास अन्य क्षेत्र र स्थानलाई महत्वकासाथ प्रचारप्रसार र प्रवद्र्धन नगरिँदा नै यस्तो अवस्था आएको बताउँछन्, होटल संघ मकवानपुरका सहल्लाहकार तथा होटल व्यवसायी बिष्णुगोपाल महर्जन ।

हेटौंडामा मोटल एभोकाडो एन्ड अर्किड रिसोर्ट, होटल प्रकाश इन्टरनेशनल, हेटौंडा रिसोर्ट, होटल सीमा, होटल सामना, होटल लोकप्रिय, होटल लिडो इन लगायत केही होटलमात्रै स्तरीय मानिन्छन् । होटल प्रकाशलाई अझ विस्तार गरेर तीनतारे होटल बनाउने घोषणा व्यवस्थापनले गरिसकेको छ ।

होटल सामाना पनि केही समयअघि मात्रै खुलेको हो । यीबाहेक हेटौंडामा साना लजहरु र होटलहरु नभएका होइनन् । बसपार्क क्षेत्रलाई लक्षित गरेर साना लगानीमा थुप्रै होटलहरु खुलेका छन् । तर, उनीहरु पर्यटकभन्दा बढी राजमार्गका यात्रुमा बढी लक्षित र निर्भर छन् ।

हेटौंडामा रहेका विभिन्न मठ मन्दिर तथा शक्तिपठीहरुको प्रचार गर्न स्थानीय सरकार चुकेको छ । चुरियामाई मन्दिर, भुटानदेवी मन्दिर, मनकामना मन्दिर, कुष्माण्ड सरोबर त्रिवेणी धाम, त्रिखण्डेश्वर महादेव, वनसखण्डी देवीको मन्दिर लगायतका स्थान हेटौंडाका धार्मिक आकर्षणका केन्द्र हुन् । तर, हेटौंडाबाहिर यस्ता मन्दिरको प्रचार गर्न स्थानीय स्तरमा खासै प्रयास भएको छैन ।

हेटौंडा नजिककैको मकवानपुरगढी दरबार, एसियाकै पहिलो दागी गरिएको चुरिया सुरुङमार्ग, मूर्ति बगैँचा, हेडौंडाको सहीद स्मारक, पुष्पलाल स्मृतिपार्क, जुरेथुम, चिसापानी गढी लगायतका थुप्रै पर्यटकीय स्थलबारे पनि जिल्लाबाहिर प्रचार भएको छैन । यी गन्तब्यहरु आन्तरिक पर्यटकका लागि आकर्षक स्थल हुन सक्छन् । तर, यसकाबारेमा प्रचार–प्रसार गर्ने काम लगभग शून्य जस्तै छ ।

यिनै कारणहरुले हेटौंडाको पहिचान एउटा औद्योगिक तथा हरित नगरीबाट फराकिलो भएर ‘पर्यटकीय नगरी’तर्फ उन्मुख हुन सकिरहेको छैन । नजिकैको सौराहमा विदेशी पर्यटकको आइरो लाग्दा हेटौंडा पर्यटकको पखाईमा झिँगा धपाउँदै बस्नु परेको छ ।

पर्सा वन्यजन्तु आरक्षमा हुने जंगल सफारीलाई प्रवद्र्धन गरेर हेटौंडमा पर्यटकको बास बस्ने वातावरण तयार गर्ने हो भने हेटौंडाले पर्यटकीय सम्भावनालाई ‘क्यास’ गर्न सक्ने बताउँछन्, मकवनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने ।

‘पहिले भारतीय पर्यटकले हेटौंडालाई धेरै रोज्थे, तर बाराको सिमारामा तारे होटल नै खुलेपछि यता आउने भारतीय पनि उतै रोकिए,’ उनी भन्छन्,‘अब हेटौंडाले पनि उनीहरुलाई यहाँसम्म तान्ने गरी प्याकेजहरु बनाउनुपर्छ ।’

ब्यवसायी महर्जनको अनुभवमा कुनै बेला तराई र भारतको सीमा क्षेत्रका धनाढ्य परिवारले हेटौंडाको होटल नै बुक गरेर विवाह, व्रतवन्ध लगायतका कार्यक्रम गर्थे । तर, अहिले अवस्था त्यस्तो छैन, तराईमा पनि स्तरीय होटलहरु खुल्न थालेका छन् । त्यसैले अब हेटौंडा भारतीय पर्यटकको रोजाइमा पनि पर्र्ने क्रम घट्दै गएको छ ।

हेटौंडामा अझै पनि ठूला र सुविधासम्पन्न सभारसेमिनार गर्ने हलको अभाव छ । त्यसका कारण ठूला कार्यक्रम पनि हेटौंडामा गर्न गाह्रो रहेको बताउँछन् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल । उनको भनाइमा हेटौंडामा अहिले पनि ठूला हलसहितका होटल खुल्ने हो भने यहाँ लगानीको जोखिम छैन ।

‘यहाँको मौसम र वातावरण अत्यन्तै राम्रो छ, तराई र भारतबाटै पनि सभा सेमिनारका लागि यहाँ पाहुना आउन सक्छन्,’ उनी भन्छन्,‘तर, हामीसँग ठूलो सभा हलसहितका होटलहरु छैनन् । सार्वजनिक हलहरु पनि सुविधासम्पन्न छैनन् । ’

हेटौंडा अब प्रदेशको स्थायी राजधानी बने अझ यस्तो समभावना फैलिएर जाने उनको भनाइ छ । अहिले अस्थायी राजधानी तोकिएपछि नै होटलहरुमा औपचारिक कार्यक्रमका गतिविधि बाक्लिएका छन् ।

अहिले हेटौंडामा उद्योग वाणिज्य संघका दुई हलहरु बढी प्रयोगमा आउँछन् । जुन निकै पुराना छन् । जहाँ सामान्य एसीसमेत जोडिएको छैन । जस्तामुनिको हलमा कार्यक्रम गर्नुपर्ने बाध्यताका कारण केही ठूलो जमघट हेटौंडामा गर्न गाह्रो छ ।

मोटल एभोकाडो र हेटौंडा रिसोर्टमा पनि साना हलहरु त छन् । तर, अली ठूलो कार्यक्रम गर्न त्यहाँ पनि हम्मे–हम्मे पर्छ ।

यतिमात्रै हैन, हेटौंडामा आधुनिक सुविधासहितका होटलहरु खुलेका छैनन् । जसका कारण प्रिमियम सुविधा लिन चाहानेहरु हेटौंडामा बस्न रुचाउँदैनन् । तर, अब सम्भावना देखेर केही लगानीकर्ता हेटौंडामा तारे होटल खोल्न कस्सिएका छन् ।

तर, पुराना लगानीकर्ताहरु हेटौंडामा स्थायी राजधानी तोकिए हेटौंडामा होटलमा लगानी ओइरिनिेमा आसावादी छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल अहिले हेटौंडाका व्यवसायीहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँछन् ।

‘होटल व्यवसायी मात्रै हैन, अन्य क्षेत्रका व्यवसायी पनि स्थायी राजधानी हेटौंडा तोकिन्छ कि तोकिँदैन भनेर हेरिरहेका छौं,’ उनी भन्छन्,‘यदि हेटौंडा प्रदेशको राजधानी भयो भने यहाँ लगानीको ओइरो लाग्छ ।’

हेटौंडाले भरपुर पर्यटक नपाइरहेका बेला मकवानपुरको उत्तरी क्षेत्रमा भने पर्यटकको आगमन वर्षेनि वृद्धि हुँदै गएको छ । काठमाडौंबाट नजिक रहेका कारण पनि दामन, पालुङ, टिुष्टुङ, बज्रबाराही, चित्लाङ, कुलेखानी, मार्खु लगायतका क्षत्रेमा पर्यटक आवागमन बढ्दो दरमा छ । त्यसैका कारण यो क्षेत्रमा पर्यटकीय होटलहरु थपिने क्रम तीव्र छ ।

दामनमा रहेको एभरेष्ट पानोरमा होटलले त वर्षैपिच्छे पर्यटक लक्षित प्याकेजहरु घोषणा गर्ने गरेका छन् । चित्लाङ र बज्रबाराहीमामा पनि होमस्टे फस्टाएका छन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्यटहरुको बसाइ लम्ब्याउन पनि प्याकेजहरु बनाउनुपर्ने व्यवसायी बताउँछन् । हेटौंडामा भने सम्भाब्यता रहेका गन्तब्यहरुको प्रचारप्रसार राष्ट्रिय स्तरमा नै गनुैपर्ने माग उनीहरुको छ ।

होटल संघ मकवानपुरले वर्षमा एकपटक अंग्रेजी नयाँ वर्षमा सडकमा नै फुड फेस्टिभल गर्ने गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघदेखि अन्य संघसंस्थाले वर्षैपिच्छे हेटौंडा, पालुङ, मनहरी र टिुष्टुङमा स्थानीय महोत्सवहरु आयोजना गर्ने गरेका छन् । तर, यसले अपेक्षित रुपमा पर्यटन प्रवद्र्धन गर्न सकेका छैनन् ।

यस्तै हेटौंडामा समय–समयमा प्रहरी प्रशासनले ‘अवैध गतिविधि’ रोक्ने नाममा चलाउने अभियानका कारण ठूला होटलहरु पनि मर्कामा परेको सल्लाहकार महर्जन बताउँछन् ।

‘हेटौंडाको राप्ति किनारमा विचरण गर्दै ढिँडो, माछा र लोकल रक्सी खान आउनेहरु पहिले धेरै हुन्थे,’ उनी सम्झन्छन्,‘मापसे चेकिङ कडा भएपछि हेटौंडाले त्यस्ता पाहुना पनि गुमाएको छ ।’

प्रदेशको प्रशासनिक काम तथा कार्यालय प्रयोजनका कामले हेटौंडा आउनेहरु बढेका नै छन् । तर, ठूलो रुपमा होटलमा ठूलो दरमा त्यस्ता पाहुना बढेको तथ्यांक व्यवसायीसँग छैन ।

अब पनि मकवानपुरको विशिष्ट चिनारीहरुलाई एकीकृत रुपमा समेटेर प्रचारप्रसारको अभियान नचलाए हेटौंडा ‘पर्यटकविहीन’ शहर बन्ने डर व्यवसायीलाई छ ।

त्यसैकारण उनीहरुको प्रश्न छ, ‘कति दिन राजमार्गका यात्रुका भरमा होटल चलाइरहने ? केही त स्थानी सरकार प्रदेश सरकारले सोचोस्, हामीलाई पनि परिचालन गरोस् ।’

तपाईको प्रतिक्रिया