Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, ४ साउन २०७९ । विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी मुद्रा बिक्री गर्न इजाजतप्राप्त मनी चेन्जरले यो सुविधा दिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।

हाललाई त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजतप्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिनेछ । केही वर्षयता यो व्यवस्था थिएन । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले यो व्यवस्थाले भ्रमणमा जानेलाई सहज हुने बताए । ‘नगद विदेशी मुद्रा नपुग्नेजस्तो लागेमा अधिकतम सीमाभित्र रही इजाजतप्राप्त अन्तर्राष्ट्रिय विमानस्थलका मनी चेन्जरबाट नागरिकले पासपोर्टका आधारमा यो सुविधा लिन सक्नेछन्’ उनले भने ‘२ सय डलरभन्दा धेरै चाहिनेले त बैंकबाटै सटही सुविधा लिन्छन् ।’

विदेश भ्रमणमा जानेले बैंकबाट अधिकतम १५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था छ । यदी बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेकाले भने मनी चेन्जरबाट थप सटही सुविधा पाउने छैनन् । बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिइसकेकाले विमानस्थलबाट थप २ सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । कामको सिलसिलामा विदेश जानेका लागि भने अधिकतम २ सय डलरसम्मको सटही सुविधा छ । उनीहरुले भने बैंकबाटै सटही सुविधा लिनुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया